देशका केही स्थानको मौसम आज बिहीबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
अहिले बिहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती प्रदेश १, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।