गोरखा । ठूलोआँगनमा निर्माण भएको पृथ्वीनारायण शाहको सालिकमा नियमित राष्ट्रनिर्माता सलामी दिने भएको छ ।
मंगलबार गोरखा संग्रहालय परिसरमा पत्रकार सम्मेलन गरी गोरखाको ठूलोआँगनमा निर्माण भएको शाहको सालिकमा पुष २७ गतेदेखि नेपाली सेनाले हरेक बिहान झण्डोत्तोलन तथा विगुलद्वारा विजयध्वनि बजाउने र राष्ट्रनिर्माता सलामी अर्पणको थालनी गरिने भएको हो ।



नेपालको इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जनमानसमा दीर्घकालिन रुपमा जीवन्त राख्न र राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई सदैव उचित सम्मान दिने उद्देश्यले सो कार्यक्रम आयोजन गर्न लागिएको नगरपालिकाको प्रमुख कृष्णबहादुर राना मगरले बताए ।
गोरखाको पर्यटन प्रबद्र्धनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योअस्तको समयमा नेपाली सेनाको पेशाकमा ‘राष्ट्रनिर्माता् सलामी’ अर्पण गर्ने नगर प्रमुख मगरले बताए ।
हरेक दिन नेपाली सेनाले विहान बेलुकी परेड खेल्दा पर्यटकहरु बास बसेर हेर्न आउने उनको भनाई छ । राष्ट्रनिर्माता सलामी हेर्नका लागि बिहान आउने पर्यटकहरु बेलुकीको सलामी हेर्न बास बस्न सक्ने र बेलुकी आउने पर्यटकहरु बिहानको सलामी हेर्न सदरमुकाममा एकरात बस्ने अबस्थाको सृजना हुने नगर प्रमुख रानाले बताए ।
पुस २७ गते ३ बजे राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम रहेको र पुष २१ गते ८:३० बजे गोरखा नगरपालिका, भिमसेनथापा गाउपालिका तथा रिपुमर्दन गणको संयुक्त आयोजनामा एकीकरण पदयात्रा हुने उनले जानकारी दिए ।


