गोरखा। जिल्ला प्रशासन कार्यालय गोरखाले अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ ।
छिमेकी राष्ट्रमा कोभिड–१९ को नयाँ स्वरुप देखा परेको भन्दै जिल्लाबासीलाई सार्वजनिक स्थलमा भिडभाड नगर्न र अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको हो ।
मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको वैठकले सो निर्णय गरेको निमित्त प्रमख जिल्ला अधिकारी चित्राङ्गत बरालको जानकारी दिए ।
कोभिड–१९ को संक्रमण नेपालमा कम हुँदै गएता पनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशहरुमा संक्रमणका नयाँ स्वरुप देखा परेको र सोको जोखिम तथा असर नेपालसहित गोरखामा पनि पर्न सक्ने भएकाले जोखिम न्यूनिकरणका लागि पूर्वसावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो ।
अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, तोकिएको भौतिक दुरी कायम गर्न, साबुनपानीले पटक पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न, सार्वजनिक यातायतका साधनमा भिडभाड नगर्न, सिट क्षमता भन्दा बढि यात्रु नबोक्न, सबै यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न र सबै स्वास्थ्य संस्थाहरु तयारी अवस्थामा रहन निर्देशन दिने वैठकले निर्णय गरेको छ ।
त्यस्तै, नेपाल सरकारले तोके बमोजिम कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउने, सामाजिक र अन्य कार्यक्रम संचालन गर्दा भिडभाड नहुने गरी गर्न निर्देशन दिने निर्णय गरेको छ ।