सुदिप श्रेष्ठ
गोरखा । जिल्लामा ०.३७ मेट्रिक टन हेक्टरले धान उत्पादन बढेको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको हो ।
अघिल्लो वर्ष ०७७/ ०७८ मा ३.४६ मेट्रिक टन हेक्टर धान उत्पादन भएकोमा यस वर्ष ३.८३ मेट्रिक टन हेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्र गोरखाका सुचना अधिकारी भबनाथ देबकोटाले जानकारी दिए ।
‘गतबर्ष ११ हजार सदुईसय ८७ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएकोमा यसबर्ष १२ हजार नौ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।’ उनले भने । ‘क्षेत्रफल पनि बढ्यो, उन्नत बिउको प्रयोग र धानखेती अनुकुल मौसमका कारण यस वर्ष उत्पादन बढेको हो ।’ धानखेतीमा आधुनिक प्रविधिको प्रयोग बढ्नु, कृषि प्राविधिकले सिफारिस गरेका उन्नत जात तथा हाइब्रिड जातको बीउ प्रयोगजस्ता कारणले उत्पादन बढेको ज्ञानकेन्द्रका सूचना अधिकारी देबकोटाले बताए ।
यहाँका कृषकले सावित्री, राम, मकवानपुर १, सुक्खा २, सुख्खा ३, हर्जिनास हाइब्रिड धान लगाउँदै आएका छन् ।
‘धान लगाउने समयमा पर्याप्त वर्षा, नहर कुलोका संरचना पक्की बन्ने क्रम बढेकाले बाँझिएका जमिनमा धान लगाउने किसान बढेका छन् ।’ उनले भने । ‘धान स्याहार्न थ्रेसर मेसिन, रोप्ने बेला ट्र्याक्टरको सुविधाले खेती गर्न सजिलो भएपछि हिजो धान नलगाएर खाली राखिएका जमिनमा धान फलाउने क्रम जिल्लामा बढ्दो छ । ’


