गोरखा । गोरखामा ६० लाखभन्दा बढी लगानीमा सावुन उद्योग संचालनमा आएको छ । गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा स्थानीय शम्भु भुजेलले लुगा धुने साबुनको उत्पादन सुरु गरेको हो ।
विहिबार एक कार्यक्रम गरी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले त्रिशक्ति साबुन उद्योगको उद्घाटन गरेका हुन् । त्रिशक्ति साबुन उद्योगद्वारा ‘दुर्गा’ नामको साबुन उत्पादन सुरु गरेको भुजेलले जानकारी दिए ।
एक रोपनी जग्गामा उद्योग संचालन गरेको भुजेलले कपडा धुने निलो र कालो गरी दुई प्रकारको लुगा धुने साबुन उत्पादन सुरु गरेको बताए । गरिबी निवारणको लागि लघु उद्यम कार्यक्रम ‘मेडपा’ अन्तरगत त्रिशक्ति लघु उद्यमी समुहले साबुन उद्योग संचालनमा ल्याएको हो ।
दैनिक तीन टनसम्मको साबुन उत्पादन गर्न सक्ने क्षमताको मेसिन जडान गरिएको बताउँदै दैनिक २४ सय सावुन उत्पादन गर्न सकिने उनले बताए । हाल २ सय र २ सय १० ग्रामको साबुन उत्पादन भइरहेको छ ।
हाल साबुन उत्पादनका लागि कच्चा पदार्थ भक्तपुरबाट ल्याउने गरेको उनले जानकारी दिए । गोरखामा आवश्यक सावुनका लागि आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग सञ्चालन गरेको बताए ।


