सरकारले वैशाख २६ देखि लकडाउन केही खुकुलो बनाएको छ। यसअघि वैशाख २५ सम्मका लागि घोषणा गरिएको लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय भइसकेको छ।
नेपालमा कोरोना संक्रमित भेटिएपछि चैत ११ गतेदेखि लकडाउन गरिएको हो। हालसम्म पाँचौँ पटक थप गर्दै लकडाउन अवधि जेठ ५ गतेसम्म पुर्याइएको हो।
सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने भएको छ ।
उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्न दिन निर्णय गरेको हो ।
खाद्यन्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय भएको उद्योग मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आजबाट शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य (इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइने जनाएको छ ।
एक स्थानमा एक पटकमा १० जना नबढ्ने गरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने शर्त राखिएको उनले बताए । विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग तथा औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग सञ्चालन गर्न पाइने सरकारले जनाएको छ ।
के कस्ता उद्योगहरु खोल्न पाइन्छ ?
१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग