• बिहिबार, साउन २१ २०८३

फ्रान्स विश्वकपको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने


बिहिबार, मंसिर २९ २०७९
1.3K
Shares

साविक विजेता फ्रान्स कतार विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अफ्रिकी मुलुक मोरक्कोलाई २ – ० गोलले हराउँदै उपाधि नजिक पुगेको हो । अब फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने भएको छ ।

अल बायत रंगशालामा बुधबार राति भएको खेल प्रारम्भ हुनु अघि नै भरपर्दा डिफेन्डर नयाब अगर्ड घाइते हुनु र सुरुवाती समयमा नै गोल खाएपनि मोरक्कोले अन्तिम मिनेटसम्म फ्रान्सविरुद्ध कडा प्रतिस्पर्धा गरेको थियो । फिफा विश्वकपको सेमिफाइनल खेल्ने पहिलो अफ्रिकी र अरबियन मुलुक बनेको मोरक्कोविरुद्ध फ्रान्सले पाचौँ मिनेटमा गोल गरेको थियो ।

पोष्ट नजिकैबाट केलियन एम्बाप्पेले गरेको प्रहार डिफ्लेक्ट भएर आउँदा थियागो हर्नान्डेजले गोल गरेका हुन् । मोरक्कोले जारी प्रतियोगितामा खाएको यो पहिलो गोल हो । त्यसपछि गोल्डेन बुटका दाबेदार ओलिभर जिरुडले गरेको प्रहार बारमा लागेर फर्कियो । जिरुडले गरेको दोस्रो प्रयास पनि बिफल बन्यो ।

७९ औँ मिनेटमा वैकल्पिक खेलाडी रान्डाल कोलो मुआनीले फ्रान्सको अग्रता दोब्बर बनाए । निर्धारित समय सकिन एघार मिनेट बाँकी  हुँदा स्टार केलियन एम्बाप्पेले गरेको प्रहार डिफलेक्ट भएर आएपछि मुआनीले गोल गरेका हुन् । मुआनीले मैदान प्रवेश गरेको ४४ सेकेण्डमै गोल गरेका हुन् । मोरक्कोका लागि दोस्रो हाफको सुरुतिर जवाद एल यामिकले गरेको ओभर हेडकिक प्रहार बिफल भएको थियो । ८० हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको खेलमा मोरक्कोले दर्शकको धेरै साथ पाएको थियो । यद्यपि त्यसलाई उसले शक्तिमा परिणत गर्न सकेन । फ्रान्स लगातर दोस्रो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो ।

अब फ्रान्सले अर्जेन्टिनालाई हराए ६० वर्षपछि लगातार दोस्रो विश्व कपको उपाधि उचाल्ने फ्रान्स र ब्राजिल पछि दोस्रो देश बन्ने छ । यस अघि १९५८ र १९६२ मा ब्राजिलले लगातार दोस्रो उपाधि उचालेको थियो । यस्तै खेलाडी करियरमा आफ्नो कप्तानीमा फ्रान्सलाई विश्वकप दिलाएका ५४ वर्षीय डिडिय डेस्सो प्रशिक्षकका रुपमा लगातार दोस्रो पटक विश्व विजेता बन्नेछन् ।

अब पूर्व विजेता फ्रान्स र अर्जेन्टिनाबीच उपाधि भिडन्त आइतबार राति लुशेल स्टेडियममा हुनेछ । अर्जेन्टिना ३६ वर्षपछि उपाधि उचाल्ने लक्ष्यमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार