गोरखा। मनास्लुमा एक दिने हिउँचितुवा संरक्षण सचेतना तथा शिक्षा गोष्ठी सम्पन्न भएको छ ।
वातावरणीय सुशासन कार्य समूह र कोडफन्डको संयुक्त आयोजनामा रेक वर्ष डिसेम्बर ११ मा मनाइने अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर मनास्लु संरक्षण क्षेत्रस्थित बुद्ध माध्यमिक विद्यालयमा उक्त कार्यक्रम भएको हो ।



डाक्टर विक्रम श्रेष्ठ र सचेत तिमिल्सिनाले हिउँचितुवासँग सम्बन्धित जानकारी तथा यसको संरक्षणका उपायहरुको बारेमा सचेतना गराइएको थियो । साथै क्यामरा ट्रयापको प्रयोग गरेर आएको तस्बीरहरु हेरेर कसरी हिउँचितुवाको गणना गर्न सकिन्छ भन्ने बारेमा पनि जानकारी गराएका थिए ।
कार्यक्रममा चुमनुब्री गाँउपालिकाका अध्यक्ष निमा लामाले हिउँ चितुवाको संरक्षणको जिम्मेवारी हामी सबैको भएकाले यो जीव यस ठाउँमा पाइनु यहाँको लागि गौरवको विषय रहेको बताए । कार्यक्रममा सो पालिकाको वडा नं ३ का अध्यक्ष रामकुमार गुरुङ, विद्यालयका प्रधानाध्यापक प्रकाश घिमिरे र सहायक प्रधानाध्यापक राजन सापकोटाले सो कार्यक्रमले विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई हिउँचितुवाप्रति रुचि र चासो जगाएको बताएका थिए ।
सो अवसरमा हिउँचितुवा संरक्षणमा स्थानीयको भूमिका बिषयमा निबन्ध, कविता र चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । निवन्ध प्रतियोगितामा आर्यन भट्ट प्रथम, राजकुमारी गुरुङ द्वितीय र सुरेश गुरुङ र रमेश गुरुङ तृतीय भएका थिए । त्यसैगरी कविता प्रतियोगितामा सुनिल लामा प्रथम, आर्यन भट्ट द्वितीय र रुपा गुरुङ तृतीय भएका थिए । त्यस्तै चित्रकला प्रतियोगितामा ङवाङ ठिले लामा प्रथम, गणेश गुरुङ द्वितीय र छिरिङ लामा तृतीय भएका थिए ।


