देशका अधिकांश स्थानको मौसम आज सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानहरुमा हल्का हुस्सुरकुहिरो लागेको छ।
सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै, तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।


