गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेबेंसीको चम्पावती हाइड्रोपावरको कार्यालयमा स्थानीयले आगजनी गरेका छन् ।
हाइड्रो पावरले बलमिच्याइँ गर्दा आफूहरूको सिञ्चाइ आयोजना बन्द हुने अवस्थामा पुगेको भन्दै उनीहरूले शनिबार केही सवारी साधनसहित हाइड्रोको कार्यालयमा आगजनी गरेका हुन् ।
आक्रमणबाट आयोजनाको एउटा कार्यालय भवन तोडफोड भएको, दुईवटा मोटरसाइकल तथा एउटा मिनीटूक र एउटा एक्साभेटर जलाएर पूर्ण रुपमा नष्ट गरेका गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए ।
आक्रमणबाट चार, पाँच करोड बराबरको क्षति भएको चम्पावती जलविद्युत आयोजनाका प्रवद्र्धक हरेराम ढकालले बताए ।
लमजुङको राइनासटार सिँचाइ आयोजनाको मुहान प्रभावित हुने गरी आयोजनाको पावर हाउस बनाउन थालिएको भन्दै त्यस क्षेत्रका बासिन्दाले काम रोक्न आग्रह गर्दै आएका थिए । राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल नेतृत्वमा आएको स्थानीय बासिन्दाको टोलीले तोडफोड र आगजनी गरेको आयोजना पक्षको भनाइ छ ।