गोरखा । गोरखा नगरपालिकाले दादुरा–रुबेलाको खोप अभियान चलाउने भएको छ ।
गोरखाको गण्डकी गाउँपालिका र शहिद लखन गाउँपालिकाका बालबालिकामा दादुराको संक्रमण देखिएपछि संक्रमण भित्रिन नदिन भन्दै गोरखा नगरपालिकाले बैशाख २५ गतेदेखि खोप अभियान सुरु गर्न लागेको हो ।
नगरक्षेत्रभित्रका १४ वटै वडामा २५ गतेदेखि २७ गतेसम्म अभियान सञ्चालन गरिने नगरप्रमुख राजनराज पन्तले बताए ।
सो खोप ९ महिनादेखि ५ बर्षमुनीका बालबालिकालाई अनिबार्य लगाउन नगरपालिकाले सुचना जारी गर्दै आह्वान गरेको छ ।
खोप अभियान सञ्चालन गर्नका लागि नगरपालिकाले १४ वटै वडाका स्वास्थ्य केन्द्र सहित बिभिन्न स्थानमा खोप केन्द्र स्थापना गरिएको नगरप्रमुख पन्तले जानकारी दिए ।
त्यस्तै अभियान अन्तरगत नै नगरक्षेत्रमा रहेका ६ महिनादेखि ५ बर्ष मनिका बालबालिकालाई भिटामिन ए र जुगाको औषधी समेत खुवाउने तयारी नगरपालिकाको छ ।
बारम्बार बालबालिका र अभियभावकलाई स्वास्थ्य संस्थामा बोलाउदा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै खोप अभियान अन्तरगत नै भिटामिन ए र जुगाको औषधी समेत खुवाउन लागेको नगरपालिकाले जनाएको छ ।
गोरखा नगरपालिकाले १४ वटा वडामा रहेका स्वास्थ्य केन्द्र सहित ४९ वटा खोप केन्द्र तोकेको जनाएको छ ।
साथै कोभिड १९ को संक्रमण रोकथामका लागि सामाजिक दुरी कार्यान्वयनमा बिशेष ध्यान दिइएको स्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।
जसका लागि गोरखा नगरपालिकाको बिभिन्न शाखामा कार्यरत कर्मचारीलाई खटाइएको अर्यालले बताए ।
हेर्नुस खोप केन्द्रको विवरण


