गाेरखा । ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक बनाउने विषय बिबादित बनेको छ । जिल्लाका सरोकारवाला, सामाजिक, राजनीतिक व्यक्तिहरुले मिश्रित खालको प्रतिक्रिया दिइरहेका छन् ।
उक्त विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । ठूलो आँगनको वीचमा सालिक बनाउँदा सवारी आवागनमा समस्या हुने, नेवार समूदायको धार्मिक, साँस्कृतिक गतिविधि गर्न अबरोध सिर्जना हुने पुरातात्विक ठूलो आँगनको महत्व गुम्ने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् ।



ठूलो आँगन देखि केही भित्र मात्र गोरखा संग्रहालय परिसरमा पृथ्वीनारायण शाहको सालिक रहेकाले बाहिर अर्को सालिक बनाउन उपयुक्त नहुने तर्क गरेर आफ्नो विचार राखेका छन् । यो विषयले गोरखा सदरमुकामको चोक, चौतारा र चियापसलहरुमा समेत राम्रै चर्चा पाएको छ ।
पूर्व नगरप्रमुख राजनराज पन्तले आफ्नो फेसबुक वालमा ‘ठूलो आँगनको महत्व बुझौं’ पोष्ट गरेका छन् ।
नेपाली काँग्रेसका जिल्ला सचिव किशोरजंग थापाले ‘ठूलो आँगन भन्या ठूलो आँगन नै हो..’ भनेर लेखेका छन् । नेपाल समाजवादी पार्टीका नारायण खत्री लेख्छन्, ‘ठूलो आँगनमा सालिक राख्नुभन्दा प्रदेश सरकारसँग अनुमति लिएर सग्रहालय भित्र नै नगरपालिकाले उपभोग गर्न पाउने ब्यबस्था मिलाएर त्यसैलाई पर्यटनको मुख्य आधार बनाऔ लाजको पसारो भित्र १ सालिक हुँदाहुदै बाहिर अर्को के का लागी ? बरु सघं र परदेशबाट बढिभन्दा बढी पैसा ल्याएर भित्र अत्यन्तै मनमोहक ठाउँ बनाऔ ।’



गोरखा नगरपालिकाले २२ लाख रुपैयाँ खर्चेर ऐतिहासिक ठूलो आँगनको वीच भागमा पृथ्वीनारायण शाहको सालिक बनाउने तयारी गरेको छ । त्यहाँ नेपालको नक्सा समेत बनाउने गोरखा नगरपालिकाको योजना छ । नेपाली सेना र नगरपालिकाले उक्त संरचना निर्माण गर्ने र त्यहाँ परम्परागत शैलीमा सेनाले परेड खेलाउने योजना बनाइएको छ ।
त्यसले जिल्लाको पर्यटन प्रवद्र्धन हुने विश्वास लिएको छ । नगरपालिकाको निर्णयको बचाउ गर्ने वडा नं. ६ का अध्यक्ष राजेन्द्र जोशीले सामाजिक सञ्जाल मार्फत नै आस्वस्त पार्ने प्रयास गरेका छन् । ‘गोरखानगरपालिका वडा नं ६ ठुलो आँगनमा बन्ने मनोग्राम नेपालको राष्टिूय झन्डा पृथ्वीनारायण शाहको शालिक राख्ने र ठुलो आगनमा सधै गाडि पर्किङ निषेध र सानो गाडिहरू यथावत संचालन हुने सम्पुर्णमा जानकारिको लागि अनुरोध गर्दछु,’ उनले आफ्नो फेसबुकवालमा लेखेका छन् ।
सालिक निर्माणको पक्षमा रहेकाहरुले भने यसले जिल्लाको पर्यटन प्रर्वद्धनमा ठूलो योगदान गर्ने भएकाले अन्यथा लिनु नहुने दाबी गर्छन । यसले त्यहाँको परम्परागत क्रियाकलाप गर्न नरोक्ने उनीहरुको भनाई छ ।
ठूलो आँगनमा सालिक बनाउँदा नेवार समूदायको गाईजात्रा, हिलेजात्रा, मकै सुकाउने पर्व जस्ता धार्मिक ऐतिहासिक क्रियाकलाप गर्न ठाउँ अभाव हुने स्थानीयको गुनासो छ । ठूलो अाँगन जस्तो ऐतिहासिक ठाउँमा संरचना बनाउँदा सरोकारवाला निकाय सँग आवश्यक छलफ ल र परामर्श बिनै नगरपालिका अघि बढेको धेरेको आरोप छ ।


