गोरखा । आफ्नो कार्यालय भवन निर्माण सुचारु गर्नका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले कैलालीबाट ल्याएका मजदुरको आरडिटी परिक्षण आजै (मंगलबार) गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माणाधिन भवनको काम अघि बढाउन भन्दै मंगलबार बिहान कैलालीबाट २८ जना मजदुर ल्याइएको थियो ।
‘हामीले कैलालीबाट हिड्ने बेला पनि सामान्य चेक जाँच गरेर बसमा हालेका हो, यहाँ आइपुगेपछि हामीसंग भएका जनशक्तिबाट ग¥यौ’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीले सिभिलखबरलाई भने ‘अब अस्पतालका स्पेशलिष्टबाट सबैको आरडिटी परिक्षण गराउछौ अनि कोरोनाभाइरस भए नभएको रिपोर्ट आएपछि काममा लगाउँछौ ।’
मंगलबार ल्याइएका मजदुर यसअघि समेत सोही भवन निर्माणमा संलग्न रहेको एसपी अधिकारीको दावी छ । उनिहरु लकडाउनकै बिचमा घर गएका थिए ।
केन्द्र र प्रदेश सरकारले विकास निर्माणका काम अघि बढाउन गरेको निर्देशन र कार्यविधी अनुसार नै आफुहरुले भवन निर्माणको काम अघि बढाउन लागेको उनको भनाई छ ।
‘विकास निर्माणको काम अघि बढाउन केन्द्र सरकारले परिपत्र गरेको छ’ एसपी अधिकारीले भने ‘आज ल्याइएका मजदुर गेटबाट बाहिर निस्किन पाउदैनन्, सुरक्षित पूर्वक क्वारेनटाइनमै राखेर काममा लगाउछौ ।’
राष्ट्रिय पुननिर्माण प्राधिकरणको आठ करोड एक लाख रुपैयाँ लगानीमा भवन निर्माणाधिन छ । भवन निर्माणको काम रोयल कन्स्ट्रक्सनले गर्दै आएको छ ।
उक्त नयाँ भवनमा कार्यालय भवन, हिरासत, ब्यारेक, कार्यालय संरचना निर्माण हुनेछ ।