• शनिबार, साउन २३ २०८३

निर्वाचनको दिन कस्तो रहला मौसम ? 


शुक्रबार, मंसिर २ २०७९
830
Shares

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुन्नका लागि मतदान हुँदैछ । यस दिन मौसम कस्तो रहला ?

मतदानको दिन मंसिर ४ गते प्रदेश १ र गण्डकी प्रदेशमा दिउँसोतिर बादल लाग्ने तर पानी नपर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीले बताइन् । उनका अनुसार सोही दिन उच्च हिमाली भागमा हिमपातको सम्भावना त छ तर एकदमै कम ।

आज मंसिर २ गते र भोलि मंसिर ३ गते हिमाली भूभागमा हिमपातको सम्भावना छ तर चुनावकै दिनमा हिमपात नहुने उनले बताइन् ।

निर्वाचन सामग्री बोकेर हिमाली जिल्लाका मतदान केन्द्रमा जाँदा हिउँले कर्मचारीहरु रोकिएका समाचार आएका छन् । मौसमविद वासीले त्यो हिउँ नयाँ नभएको बताइन् ।

महाशाखाले जारी गरेको मंसिर २ गतेदेखि ४ गतेसम्मको मौसम पूर्वानुमान यस्तो छ–

२०७९ मंसिर ०२ (शुक्रबार) : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

२०७९ मंसिर ०३ (शनिबार) : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

२०७९ मंसिर ०४ (आइतबार) : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार