• मंगलबार, साउन १२ २०८३

निर्वाचन, नेता र मतदाता !


बिहिबार, मंसिर १ २०७९
655
Shares

मुकुन्द कोइराला

भनिन्छ, निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष हो। प्रजातन्त्रलाई परिष्कृत र परिमार्जित गर्ने प्रक्रिया हो। जनताको अभिमत लिँदै उनीहरूको भावनालाई राज्य सञ्चालनमा प्रतिविम्बित गराउने माध्यम हो।

समाजको सकारात्मक परिवर्तन, विकास र रूपान्तरण गर्न जनताको सहभागिताबाट जनताले मन पराएका असल प्रतिनिधि छान्ने माध्यम पनि हो। यिनै मूल्य, मान्यता र सिद्धान्तका कारण निर्वाचन आवधिक (निश्चित समय) हुन्छन्। हो, समय, काल, स्थान र परिवेशअनुसार निर्वाचन प्रक्रिया तथा समय सीमा फरकफरक हुन्छन्।

पूर्वीय सभ्यताका इतिहासका पानाहरू पल्टाउँदा पनि राम, कृष्ण र बुद्धका समयहरूमा पनि जनसहभागिता, जनसहमति तथा जनमत लिएका प्रशस्त उदाहरण पाइन्छन्। विगत जे भए पनि २०४६ सालको परिवर्तनले प्रजातन्त्रको पुनर्स्थापना गर्‍यो। नेपालीको भाग्य निर्माणको माध्यम बन्नेमा सबै ढुक्क थिए।

विडम्बना, संघर्षबाट आएका नेताहरू निर्वाचित हुँदै हिमाल झैं चम्किए। तर, कुशासन र भ्रष्टाचारसँगै टुकुचा झैं कुरूप बन्दै आए। परिणाम देशमा सशस्त्र संघर्ष भयो। हजारौं निर्दोष जनता मारिए। देशमा ठूलै परिवर्तन भयो। तर पनि देश र जनताको भाग्य परिवर्तन भएन। समय, व्यवस्था तथा केही हदसम्म पात्रहरू परिवर्तन त भए। विडम्बना नेपाली जनताको अवस्था र भाग्यमा खासै परिवर्तन भएन।

संघर्ष, आन्दोलन तथा युद्धका बेलाका देशभक्ति तथा जनपक्षीय आवाज हराउँदै गए। जनताका सपना पिँडालुको पातको पानी सूर्योदयसँगै हराए झैं हराउँदै गए। यसै परिवेशमा फेरि एकपटक निर्वाचन नामको कुम्भमेला-पर्व सम्पन्न हुन गइरहेको छ। वर्तमानको निर्वाचन प्रक्रियाका गलत अभ्यास तथा दल, नेता तथा आममतदाताहरूको व्यवहार र शैलीलाई दृष्टिगत गर्दा संक्षेपमा निम्नबमोजिम बँुदागत रूपमा विश्लेषण गर्न सकिन्छ।

सिद्धान्त उत्तरको, व्यवहार दक्षिणकोराजनीतिले समाज र देशको सकारात्मक तथा सिर्जनशील परिवर्तन, विकास र रूपान्तरण गर्न निर्देशित र नेतृत्व गर्छ। साथै सिद्धान्तले राजनीतिलाई निर्देशित र नेतृत्व गर्छ। सबै दल तथा पार्टीका उद्देश्यहरू देश विकास र जनकल्याण नै हुन्। तथापि देश विकास र जनकल्याण गर्ने माध्यम र विचार फरक हुन्छन्।

अर्कोको विचार सिद्धान्तले भन्दा मेरो विचार र सिद्धान्तले देश विकास र जनकल्याण गर्न सकिन्छ भन्ने मान्यता र विश्वासकै कारण फरकफरक मतका कारण फरकफरक दल या पार्टी खोल्नु परेको हो। तिनै फरक विचार र सिद्धान्तका आधारमा आवधिक समयका निम्ति तय गरिएका नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जाने हो। जसको नीति कार्यक्रमलाई जनताले अनुमोदन गर्छन्, सोही दल या पार्टीले जननिर्वाचित प्रतिनिधिको माध्यमबाट सुशासन प्रदान गर्ने हो। यसैका निम्ति आवधिक, स्वच्छ एवं निष्पक्ष निर्वाचन आवश्यक पर्ने हो।

दुर्भाग्य, यी त भन्ने कुरा न हुन् भने झैं भयो। निर्वाचन विचार र सिद्धान्तका माध्यमबाट नीति तथा कार्यक्रम जनअनुमोदित गराउने पवित्र प्रजातान्त्रिक माध्यम बनेन र रहेन। निर्वाचन त कठै फगत गणित मिलाउने बनारसका पान्डाको बही खाताजस्तो भयो। विचारमा आधारित मोर्चा गठबन्धन बन्छन् र बन्नु पनि पर्छ। तर, गठबन्धन बैंक लुट्न घोर विरोधी र दुश्मनी ग्याङ एकछिनका निम्ति मिले झैं भयो। कति गठबन्धन उत्तर दक्षिणका छन्।

टाढाटाढासम्म विचारको ‘व’ र सिद्धान्तको ‘सध’ नमिल्ने छन्। त कुनै गठबन्धन सर्प, भ्यागुतो र बिच्छीको मैत्री गठजोड झैं छ। कतै कट्टर दक्षिणपन्थी, कट्टर वामपन्थी, साम्प्रदायिक एवं अर्ध–वामपन्थीको गठबन्धन छ। त कतै राजावादी, गणतन्त्रवादी, होली वाइनवादी तथा साम्प्रदायिकवादीको गठबन्धन बनेको छ। यी दुवै गठबन्धनलाई हेर्दा उनीहरूलाई विचार, सिद्धान्त, नीति तथा कार्यक्रमसँग कुनै लेनादेना छैन। न यो विचार, सिद्धान्त, नीति तथा कार्यक्रम आधारित निर्वाचन प्रतिस्पर्धा नै हो। यो नितान्त सत्ता प्राप्तिका निम्ति गरिएको हठकन्डा मात्र हो।

खासमा संविधान खतरामा छ। गणतन्त्रलाई चुनौती छ। प्रतिगमनको सम्भावना टरेको छैन। राष्ट्रियता संकटमा छ। आदि आदि भन्न सकिएला। तर वास्तविकता ती हुँदै होइनन्। विचार सिद्धान्त आधारित राजनीतिबाट दल तथा जिम्मेवार नेताहरू पतीत भइसकेको र राजनीति सत्ता तथा स्वार्थकेन्द्रित हुन गएको छ। त्यसैले आआफ्नो स्वार्थको स्वर्ग बचाउने स्वार्थी प्रपञ्च मात्र हो। यसले समाज, देश र जनतालाई केही फाइदा पुग्नेवाला छैन। जुनजुन देशमा जसरी पनि सत्ताकब्जा गर्ने गलत नीति नेताहरूले अपनाए ती देशहरूले ठूलो मूल्य चुकाएको इतिहास ताजै छ।

देश ऋणमा चुर्लुम्म डुबेर ध्वस्त, नेताहरू सत्ता स्वार्थमा मस्त

नेपालको आर्थिक अवस्था सबैको अगाडि छर्लंगै छ। देश नेपाली युवाले विदेशमा पसिना बगाउँदै जीवनसँग ज्याला साटेको पैसाले चलेको छ। अन्तर्राष्ट्रिय व्यापार घाटा लगभग वार्षिक कुल गार्हस्थ राष्ट्रिय उत्पादन बराबर भइसक्यो। देशको घोषित ऋण लगभग २० खर्ब पुगिसक्यो। नेपाली बैंकहरूले ऋण प्रवाह गर्ने क्षमता लगभग सकिइसक्यो।

एकै दिन २०–२५ प्रतिशत निक्षेपकर्ताहरू बैंकहरूमा पैसा लिन गए। बैंकहरूले पैसा दिन सक्ने अवस्था सायदै होला ? देश दिनपरदिन परनिर्भर बन्दै छ। तर सबै पार्टीका नेताहरूको आर्थिक अवस्था अकासिँदो छ। युरोपियन अमेरिकन जीवनशैलीको मोज नेपालमै गरिरहेका छन्। उच्च नेता तथा उच्चपदस्थ कर्मचारीलगायत उच्च व्यापारी उद्योगीका छोराछोरी तथा धनसम्पत्ति विदेशमा सुरक्षित छन्। यो क्रम तीव्र छ।

देश डरलाग्दो आर्थिक अवस्थामा छ। यो यो आर्थिक नीति र कार्यक्रमका माध्यमबाट देशको आर्थिक रूपान्तरण र विकास गर्छौं भनेर दलहरूले भन्नुपर्नेमा कसरी निर्वाचनलाई माध्यम बनाउँदै सत्ता कब्जा गर्ने ? भन्नेमात्र ध्येय देखिन्छ। देशलाई चुर्लुम्म ऋणमा डुबाएर ऋणै गरेर निर्वाचन गर्दै ऋणै थप्न सत्ता कब्जा गर्ने स्वार्थी नियतले सम्पन्न गर्न गइरहेको निर्वाचनले कही नेताहरू र तिनका आसेपासे झोलौटेहरूलाई त फाइदा गर्ला नै।

समाज देश र जनतालाई भने फाइदा गर्ने छैन। राजपक्षे परिवारले लिएका यस्तै नीतिले श्रीलंकाजस्तो देशको दुर्गतिबाट नेपाल र नेपाली जनताले सिक्न पर्छ। अन्यथा भोलि पश्चातापबाहेक अरू केही बाँकी हुने छैन।

नेपाली राष्ट्रियता सार्वभौमिकता देखाउँदै स्वार्थसिद्ध गर्दै

पुर्खाले नेपाली राष्ट्रियता र सार्वभौमिकताका निम्ति शिर कटाउन तयार भए तर शिर झुकाएनन् र शिर झुकाउने कार्य पनि गरेनन्। पछिल्लो समयमा नेताहरूले भने राष्ट्रियता र सार्वभौमिकतालाई मागी खाने भाँडो बनाए। निर्वाचन जित्ने माध्यम बनाए। पद र पैसाका निम्ति राष्ट्रघात देशघात गर्न पछि परेनन्। २०१५ सालदेखि यो निर्वाचनसम्म आउँदा यिनले गरेका गण्डक सम्झौता, कोसी सम्झौता, महाकाली टनकपुर हुँदै नागरिकता विधेयक साक्षी छन्।

पञ्चेश्वर, कर्णाली, सेती आदिआदि सम्झौता र समयसमयमा नागरिकता लिलाम बढाबढको त हिसाबै नगरौं, वर्णन गरी साध्य पनि छैन। यिनै पृष्ठभूमिको आडमा नितान्त सत्ता स्वार्थले ओतप्रोत हुँदै राष्ट्रियता र सार्वभौमिकतालाई माध्यम बनाउँदै निर्वाचनमार्फत सत्ताकब्जा गर्ने वर्तमानको कुटिल रणनीति पनि देश हितमा पटक्कै छैनन्।

सस्ता र नक्कली कुरा गरेर क्षणिक मुट्ठीभर स्वार्थीहरूको स्वार्थसिद्ध होला। तर देश र जनतालाई कुनै फाइदा हुने छैन। नेपाली राष्ट्रियता र सार्वभौमिकताको त कुरै नगरौं। यिनको यस्तै हर्कत र जनताको पनि यस्तै रवैया हो भने देशले एकदिन फिजी, सिक्किम तथा कोरियाको नियति नभोग्नु पर्ला भनेर ढुक्क हुने अवस्था छैन।

संस्कार संस्कृति मास्दै डलर युरोमा रमाउँदै

देश भूगोल मात्र होइन। संस्कार, संस्कृति, रीतिरिवाज, भेषभूषा, भाषा, सभ्यता आदि पनि हुन्। यी कुराहरू विकसित हुन्, पन्पिन र मौलाउन सयौं हजारौं वर्ष लाग्छन्। हिमालको काखमा सयौं हजारौं वर्षका संस्कारहरूले विकसित बेग्लै र विशिष्ट संस्कृति र सभ्यताका अनि नेपाली जातिका निम्ति हाम्रा पुर्खाहरू भोट, चीन र अंग्रेजसँग लडेका हुन्।

पछिल्लो समयमा पुर्खाले रगत पसिनाले सिँच्दै बलिदानीको छहारीमा बचाएर राखेका वैभव निधिहरूलाई डलर र युरोको प्रलोभनमा पर्दै हाम्रै नीति निर्माता, उच्चपदस्थ कर्मचारी तथा नेताहरूले विभिन्न सुधार र विकासको नाममा सिध्याउँदै गएका छन्। यही र यस्तै तरिकाले मतदाताले पनि मतदान गर्दै जाने र नेताहरू पनि निर्वाचित हुँदै जाने हो भने एकदिन हाम्रा सनातन संस्कार, संस्कृति तथा धर्म परम्पराहरू हराउँदै जाने छन्। आफ्नै भूमिमा आफ्नै संस्कार, संस्कृति इतिहासका पानाहरूमा खोज्नुपर्ने अवस्था आउनेछ।

छेपारे प्रवृत्तिका नेता माखे स्वभावका मतदाता

नेताहरू देश, जनता, विचार र सिद्धान्तका निम्ति बलिदानी गर्न सदा तत्पर हुनुपर्ने हो। तर यसको उल्टो पद, पैसा र स्वार्थका निम्ति छेपारोले रङ फेरे झैं विचार, सिद्धान्त, दल फेर्न तयार छन्। निर्वाचन जित्न र पद पाउन जतिखेर जे पनि भन्दै हिँड्छन्।

निर्वाचनपिच्छे फरकफरक आश्वासन र वाचाहरू बाँड्दै हिँड्छन्। निर्वाचनको समयमा जनताका सच्चा हितैषी बनेको नाटक गर्ने नेताहरू निर्वाचित भएपश्चात् राजा महाराजाको ढोंग गर्छन्। अनेक बहुरूपी बन्दै देश र जनतालाई लत्याउँदै सत्ता तथा भत्ता स्वार्थमा समय बिताउँछन्। सारा समय र ऊर्जा दलाली तथा बिचौलिया बन्दै सकेर संसद्को गरिमामय सदनलाई सयन सदन बनाएर दुनियाँलाई तमासा देखाउँछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार