गाेरखा । गाेरखाकाे धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ । गत कात्तिक १६ गतेबाट सुरु भएको तालिम कार्तिक ३० गते सम्पन्न भएको हो ।
मणिकामदेवी माविको कक्षा ११ र १२ मा पर्यटन र पवर्तरोहण विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई ट्रेकिङ गाइड तालिम दिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले बताए । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन बोर्डको साझेदारीमा ३४ औ ट्रेकिङ गाइड तालिम दिइएको हो ।
तालिममा विद्यार्थीहरुलाई उच्चहिमाली क्षेत्रमा अप्ठ्यारो ठाउँमा तल झर्नुपर्दा याङ्करिङ बनाउने तारिका र तलझर्दा गरिने ¥यापेलिङ र बाटो नभएको ठाउँमा डोरीफिक्स गरेर माथि चढ्ने जुमारिङ, कृतिम घर बनाउने तारिका लगायतका विषयमा प्रयोगात्मक रुपमा तालिम दिइएको उनले जानकारी दिए ।
त्यस्तै, ट्रेकिङ जाँदा आइपर्ने समस्या, जलबायु परिवर्तनका असरहरु, पर्यटन क्षेत्रमा ट्रेकिङ गाइडको भूमिका कसरी निर्वाह गर्ने, विदेशी पाहुनालाई कसरी स्वागत सत्कार गर्ने, पर्यटकको सुरक्षा कसरी गर्ने लगायतका कुराहरु तालिममा सिकाइएको उनले बताए । उक्त तालिमपछि लिइएको परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरुलाई पर्यटन बोर्डबाट गाइड लाइसेन्स दिने उनले जानकारी दिए । परीक्षामा ५० जना विद्यार्थी सहभागी थिए ।
तालिममा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट हिमाल पण्डित र अनिस दाहाल प्रशिक्षकमा रुप खटिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लाप्राकका वडा अध्यक्ष किसान गुरुङ, शिक्षक, कर्मचारी, अभिभावकलगायत सहभागी थिए ।
