गोरखा । लकडाउनकै बिच सिरानचोक गाउँपालिकाले कक्षा ८ को परिक्षाफल सार्वजानिक गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनले झण्डै डेढ महिनादेखि देश ठप्प छ ।
यसैबिचमा सिरानचोकले जिल्लामै पहिलो पटक अनलाइन मार्फत आधारभूत तहको बार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
गाउँपालिकाले आइतबार बिभिन्न सामाजिक सञ्जाल तथा आफ्नो वेवसाइट मार्फत परिक्षाफल सार्वजानिक गरेको अध्यक्ष राजु गुरुङले बताए ।
गत फागुन २८ गतेदेखि सञ्चालन भएको गाउँपालिकास्तरीय परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
गाउँपालिकाभित्र रहेका २० वटा विद्यालयका ४ सय ३८ जना परीक्षार्थीको आइतबार नतिजा प्रकाशन गरेको अध्यक्ष गुरुङले बताए ।
१.६ जिपिए ल्याउने परीक्षार्थीले माथिल्लो कक्षामा पढ्न पाउने परीक्षा समितिले निर्णय गरेको छ । दुईवटा विषयमा १.६ जिपिए नल्याए पुन परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले बताए ।
नतिजाप्रति चित्त नबुझे एकसाताभित्र पुनर्योग गर्न पाउने व्यवस्था गाउँपालिकाले गरेको छ ।
विद्यालय तथा परीक्षार्थीले आईएमआईएस प्रविधिमार्फत नतिजा तथा मार्कसिट हेर्न पाउने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।
परीक्षार्थीले आफ्नो व्यक्तिगत विवरण सच्याउन चाहेमा विद्यालयको सिफारिस सहित निवेदन दिन सक्ने व्यवस्था गरेको पनि उनले बताए ।
गाउँपालिकाले अन्य कक्षाको बार्षिक परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ ।
साथै स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गरी बैशाख मसान्तसम्म घरदैलो कार्यक्रम गरी विद्यार्थी भर्ना अभियान चलाउने र पाठ्यपुस्तक पनि बाँडिसक्ने योजना बनाएको अध्यक्ष गुरुङले बताए ।

