गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले स्थापना गरेको कोरना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट पार्टी कमिटीले ७५ हजार नगद सहयोग रकम प्रदान गरेको छ ।
आइतबार गाउँपालिकाका पार्टी अध्यक्ष नरबहादुर गुरुङले गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य भगवती तिवारी, जिल्ला सदस्यहरु धामी बराम र मोहन ढकाल, गाउँपालिका सदस्यहरु जित नेपाली, राजकुमार गुरुङ, नारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
गाउँपालिकाका पार्टी सदस्य एवं शुभचिन्तकहरुबाट संकलित रकम मध्ये पहिलो चरणमा उक्त रकम प्रदान गरिएको र सहयोग अभियान जारी राखेकोले अर्को चरणमा पुनः सहयोग गरिने अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
सहयोग रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष भट्टले जनताको सहयोग रकमलाई पारदर्शी ढंगबाट कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको लागि खर्च गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।