गोरखा । देशमा दिनप्रतिदिन कोरोनाभाइरसका संक्रमित पुष्टी भइरहदा स्वास्थ्य क्षेत्रमा अर्को चुनौती समेत थपिएको छ ।
हालसम्म नेपालमा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । तर गोरखा, धादिङ सहित नवलपरासीामा दादुरा, कास्की र म्याग्दीमा डेंगुको बिरामी फेला परेपछि थप चुनौती थपिएको हो ।
दादुरा महामारीबाट दुई जनाको मृत्यू भएको धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सीमानामा रहेको गोरखाको छतिवन गैराका चेपाङ बालबालिकामा पनि दादुराको संक्रमण फैलिएको पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
पाँच जनाको दादुराको परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले चार जना बालबालिकामा दादुराको संक्रमण पुष्टि गरेको कार्यालयले जानकारी दिएको छ ।
छ महिनाको बच्चादेखि १७ बर्षकी किशोरीसम्ममा दादुराको संक्रमण पुष्टि भएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।
छ महिना, आठ महिना, १२ बर्ष र १७ बर्षका बिरामीमा दादुरा पुष्टि भएको उनले बताए ।
त्यस्तै नवलपरासीमा समेत १ जनामा दादुरा रोगका बिरामी भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
यसैगरी म्याग्दीमा ४ र कास्कीमा १ जना गरी ५ जनामा नयाँ डेंगु संक्रमित भेटिएको निर्देशनालयले बताएको छ । निर्देशनालयले आफ्नो आधिकारीक फेसबुक मार्फत सो सुचना सार्वजानिक गरेको हो ।