
काठमाडौं । वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने जनाएको छ ।

बुद्ध एयरले आज एक सूचना मार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गरिने जनाएको हो ।
जारी सूचनामा भनिएको छ – “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारीसँगै पहिलो उडानका रुपमा पोखरा–बनारस-पोखरा उडान हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार हुने जानकारी गराउँदछौं ।’

एयर ट्राफिक रुटका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा–दिल्ली–पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीको भनाइ छ ।
कम्पनीले पोखरा–देहरादुन–पोखरा रुटमा सातामा तीन वडा उडान गर्ने जानकारी दिएको छ । हाल बुद्ध एयरले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान गर्दै आएको छ ।

