
गोरखा । गोरखामा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसलाई अमेरिकी नागरिक जेनिस ह्व्पिलद्वारा झण्डै १० करोड रुपैयाँ आर्थिक सहयाेग प्राप्त भएको छ ।

गोरखा सदरमुकाममा विहिबार पत्रकार सम्मेलन गर्दै क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले क्याम्पसको दिगो विकास र दक्ष जनशक्ति उत्पादनका लागि नेपाली रुपैया ९ करोड ७८ लाख ७८ हजार ३ सय १३ रुपैया प्राप्त भएको जानकारी दिए ।
‘जेनिस ह्व्पिल क्याम्पस विकास कोष’ स्थापना गरी सो रकम जम्मा गरिएको छ । ह्व्पिल २०४९ सालमा पहिलो पटक नेपाल आएका थिए । भने दोस्रो पटक गोरखा भ्रमणमा आउँदा द्रव्यशाह क्याम्पसको दिगो विकास र संचालनका लागि आफनो बाँकी रहेको नीजि सम्पति आफ्नो मृत्युपछि क्याम्पसलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
जसअनुसार उनको मृत्यु भएपछि उक्त रकम प्राप्त भएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए । आर्थिक सहयोगबाट प्राप्त सो रकमबाट आउने ब्याज क्याम्पसले तयार पारेको संचालन कार्यविधि २०७९ अनुसार खर्च गरिने क्याम्पस प्रमुख दुवाडीले बताए ।
कार्यविधिका अनुसार छात्रवृत्ति, पुरस्कार, अतिरिक्त लगायतका विद्यार्थी लक्षित कार्यक्रमका लागि १० प्रतिशत, अनुसन्धान तथा क्षमता अभिवृद्धि, वृत्तिविकास र अध्ययनका १० प्रतिशत र क्याम्पसमा कार्यरत जनशक्तिको कल्याणकारी कार्यमा १५ प्रतिशत रकम खर्च गर्न पाइने छ ।
त्यस्तै, २५ प्रतिशत रकम कोषमा नै थप गरिने छ भने ४० प्रतिशत रकम क्याम्पस संचालनका लागि खर्च गर्न सकिने कार्यविधि बनाएको छ । क्याम्पसलाई आर्थिक सहयोग गरेका जेनिसको सन २०२० फेब्रअरी १ मा मृत्यु भएको थियो ।
