
देशका केही स्थानमा आज बिहीबार बदली रही थोरै स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।
यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
