विश्वभर सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्न लागेको छ।
अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा सुरु गर्न लागिएको फेसबुकले जानकारी दिएको छ।
‘म्यासेन्जर रुम’ नाम दिइएको नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ। सामूहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रिया गर्न सकिने गरी म्यासेन्जर रुम बनाइएको छ।
म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन। असीमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ।
सामूहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्छ।