नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले इ–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष इ–शिक्षा प्याकेज ल्याइएको उल्लेख छ।
‘विशेष ई–शिक्षा प्याकेजअन्तर्गत रु २६० मा छ जिबी र रु ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ, रु २६० मा प्राप्त हुने कूल छ जिबीमध्ये तीन जिबी डाटा बिहान ५ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म प्रत्येक दिन जम्मा पाँच घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी तीन जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ’, विज्ञप्तिमा उल्लेख छ।