गोरखा । आरुघाट गाऊँपालिका १ मान्बुको वनमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
मान्बुको तीनखोपुवा ढुंगास्थित स्थानीय पोत्लबी सामुदायिक वनमा पहिचान खुल्न नसकेका अन्दाजी ३५ देखि ४० वर्षका पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रमुख इन्स्पेक्टर रामजी देवकोटाले जानकारी दिए ।
वनमा शव देखिएको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । अनुहार चिन्ह नसक्ने गरि सडेगलेको अवस्थामा शव फेला परेको उनले बताए ।
खैरो हाफ टिशर्ट, निलो जिन्स पाइन्ट, कालो नाइक लेखेको चिन्ह भएको खैरो जुत्ता र कम्मरमा अंग्रेजी अक्षर जि लेखेको बेल्ट लगाएको पुरुषको शव फेला परेको उनको भनाइ छ ।
शव पोष्टमार्टमका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगिएकाे प्रहरीले जनाएको छ ।
