
बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै आइतबार पाकिस्तान समूह–२ बाट आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अस्ट्रेलियाको एड्लेइड ओभलमा पाकिस्तानलाई जित दिलाउन ओपनर मोहम्मद रिजवानले ३२ रन बनाए । मोहम्मद ह्यारिसले ३१ रन बनाउँदा कप्तान बाबर आजमले २५ र सान मसुदले २४ रन बनाए ।
बंगलादेशका नुसम अहमेद, कप्तान साकिब अल हसन, मुस्ताफिजुर रहमान र इबादत हुसैनले समान एक-एक विकेट लिए ।
यसअघि, साहिन साह अफ्रिदीले चार विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२७ रनको मध्यम योगफल खडा गरेको थियो ।
बंगलादेशका ओपनर नज्मुल हुसैन सान्तोले ५४ रन बनाएका थिए । अफिफ हुसैनले २४, सौम्य सरकारले २० र लिटन दासले १० रन जोडे ।
पाकिस्तान समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेपनि आजै हुने भारत र जिम्बाब्वेबीचको खेलपछि मात्रै समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
यसअघि भारत सेमिफाइनलमा पुगिसकेकाे छ ।


