कतार र संयुक्त अरब इमिरेट्सले नेपाल सरकारलाई मेडिकल सामग्री पठाएका छन्।
कतार र यूएई सरकारले नेपाललाई कोरोना महामारीको सामना गर्न आवश्यक मेडिकल तथा अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
दुबै देशले जहाज चार्टर्ड गरेर नेपालमा सामग्री पठाएका हुन्।
विमानस्थल कार्यालय प्रमुख देवेन्द्र केसीका अनुसार दुबईबाट इतिहाद एयरवेज र कतारबाट कतार एयरवेजले सहयोग सामग्री बोकेर ल्याएका थिए।

कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ। यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेका छन्।
त्यस्तै, दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ।
बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्द अल–हेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
कतारबाट १४ प्रकारका स्वास्थ्य सामग्री प्राप्त भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले बताए।
कतारले उपलब्ध गराएका सामग्रीमा तीन लेयर मास्क ४ लाख ८० हजार, तीन लेयर मास्क मेडिकल एफएफपीटू ५६ हजार, तीन लेयर मास्क मेडिकल एफएफपीथ्री ५५ हजार, फेस सिल्ड १५ हजार, प्रोटेक्टिभ पञ्जा ५० हजार, बिभिन्न साइजका प्रोटेक्टिभ कभरअल्स ७ हजारभन्दा बढि, सर्जिकल गाउन १२ हजार, सेफ्टी गगल्स र प्रोटेक्टिभ गगल्स गरी ३० हजार लगायत गरी ७ लाख २५ हजार ५०० थान सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो।
