खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण सुरू भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले अपराह्न ४:५२ बजेबाट स्पर्श गरेको छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले बताए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्नेछ ।
शास्त्रीय मान्यताअनुसार बिहान ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले भोलि बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
हणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धार्मिकग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने बताइएको छ । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार आजबिहान ४ः५२ बजेदेखि भोजन गर्न हुँदैन ।
ग्रहणका समयमा नित्यकर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।