गोरखा । बुद्ध हिमाल जाने पदमार्ग निर्माणमा खटिएका गोरखाका एक युवककाे मृत्यु भएकाे छ । पदमार्ग निर्माणका लागि गएका चुमनुब्री गाउँपालिका ३ सिर्दिवासका २८ बर्षका इमान गुरुङकाे मृत्यु भएकाे हाे ।
उनकाे बारपाक सुलिकाेट गाउँपालिका १ काे रुविनाला बेसक्याम्पमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।
शुक्रबार बिहान उनकाे मृत्यु भएपनि माैसम खराबीका कारण हेलिकाेप्टर जान समस्या भएपछि आज शनिबार मात्रै गुरुङ्गकाे शव गोरखा सदरमुकाम ल्याइएकाे गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
दिउँसाे करिब १२ बजेर १५ मिनेटमा अन्नपूर्ण एयरकाे हेलिकाेप्टरबाट गुरुङकाे शव सदरमुकाम ल्याइएकाे र पाेष्ट मार्टमपछि परिवारकाे जिम्मा लगाइने उनकाे भनाई छ । उनकाे मृत्यु लेक लागेर हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीकाे छ ।