काठमाण्डाै । शहरी विकास मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंहले राष्ट्रिय शहरी नीति संघीय ढाँचा अनुसार परिमार्जन गर्न लागिएको बताएका छन्।
विश्व बसोबास दिवस २०२२ को अवसरमा शहरी विकास मन्त्रलाय, शहरी विकास तथा भवन निर्माण विभाग,युएन ह्याबिट्याट, राष्ट्रिय शहरी मञ्चलगायतका संस्थाहरुको आयोजना भएको मुल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिमार्जित राष्ट्रिय शहरी नीतिले समावेशिताका सिद्धान्त, दिगो विकासका लक्ष्यलाई पनि समेट्ने स्पष्ट पारेका हुन्।

भौतिक संरचनाहरु बनिसकेपछि शहरलाई व्यवस्थित गर्न निकै चुनौतिपूर्ण रहेको बताउँदै उनले पहिला योजना बनाएर अनि मात्र शहरको विकास गर्नु पर्नेमा बताए। काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले प्राधिकरणले चारवटा नयाँ शहर विकास गर्न लागेको जानकारी दिँदै त्यसलाई समावेशी बनाउने प्रतिबद्धता जनाएकी छिन।
सबै सरकारी निकायबीच समन्वय भए मात्र शहरलाई बस्न लायक बनाउन सजिलो हुने उनको भनाई थियो। यस्तै संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (यूएन ह्याविट्याट) का क्षेत्रीय निर्देशक ब्रुनो डेरकोनले नेपालको संविधानमा नै समावेशिताका कुरा समावेश भएकाले शहरी विकासमा यो कुरा छुट्न नहुनेमा जोड दिए।

शहरीकरण विश्वव्यापी रुपमा वृद्धि भइरहेकाले प्रविधिको सहायतामा त्यसलाई सजिलै नियाल्न सकिने भन्दै उनले कसैलाई पछाडि छाड्न नहुने तर्क गरे। शहरी क्षेत्रमा बसोबास गर्ने कतिपयलाई छाक टार्न समेत समस्या रहेको स्मरण गर्दै उनले शहरलाई समावेशी बनाउन यस्ता कुरालाई सम्बोधन गर्नु पर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको प्राविधिक सत्रमा धुलिखेल, निलकन्ठ, कागेश्वरी नगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिले शहरकरणमा आफुले गरेका असल अभ्यासहरु प्रस्तुत गरेका थिए। यस्तै दिगो र समावेशी शहरीकरणको विषयमा पनि विज्ञहरुबीच अन्तरक्रिया भएको छ।

अन्तरक्रियामा बोल्दै मन्त्रालयका सहसचिव पद्म कुमार मैनालीले शहरमा बस्नेहरुबीचको असमानतालाई घटनाउनु पर्नेमा जोड दिएका छन्। मुख्य शहरहरुलाई सञ्जालको रुपमा विकास गर्नु पर्ने धारणा राख्दै उनले त्यसको लागि आवश्यक पूर्वाधार निर्माणमा चुक्न नहुने बताए।
यस्तै, शहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक डा. महेन्द्र सुब्बाले अनौपचारिक अर्थतन्त्रका लागि शहरमा केही ठाउँ सिर्जना गर्नुपर्ने धारणा राख्दै सार्वजनिक ठाउँलाई समयको हिसाबले व्यवस्थित गर्दै लैजानु पर्ने बताएका छन्।
यस वर्षको बसोबास दिवस ‘समावेशी शहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ मनाइएको छ। दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ ।

