यतिबेला चाडबाडको माहौल छ । महान चाड दशैं बिदा गरेर तिहारको स्वागतमा नेपालीहरु छन् । चाडबाड विशेष गीतहरु आइरहेका छन् । चाडबाडमध्ये पनि तीज विशेष गीत निकालिरहेका युवा गायक अर्जुन सापकोटाले यस वर्ष तिहार विशेष गीत सार्वजनिक गरेका छन् । गतवर्ष उनले परदेशीको दशैं तिहार गीत निकालेका थिए ।
युवा पुस्ताले रुचाएका प्रिय गायक एवं सर्जक अर्जुन सापकोटाले आइतवार आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘यसै रमाइलो’ बोलको तिहार गीत सार्वजनिक गरेका हुन् । देउसी भैलोको क्रममा तिहारमा यो गीत घन्काउन मिल्ने खालको छ । एक दिनमै आधा लाख पटक हेरिएको भिडियोलाई सबैले रुचाएका छन् । म्युजिकतर्फ ट्रेण्डिङमा पनि उकालो लागिसकेको छ ।
तिहारको हर्षोल्लासका शब्द मिसाइएको यो गीत यज्ञ सापकोटाले लेखेका हुन् । अर्जुनले स्वरसँगै भाका पनि आफैले सिर्जना गरेका हुन् । सुनिल परियारले एरेन्ज गरेको गीतमा यज्ञ सापकोटा र श्रीधर अधिकारीले पनि स्वरमा साथ दिएका छन् ।
भिडियोमा गायक अर्जुन स्वयं प्रस्तुत छन् । जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा अर्जुनका साथमा यज्ञ सापकोटा, सन्तोष सापकोटा, क्रिष्टल सापकोटा, बादल घिमिरे, टंक डुम्रे, श्रीधर अधिकारी लगायत पनि देखिएका छन् ।
करन चैसिरको छायाँकन रहेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका हुन् ।