• आइतबार, साउन २४ २०८३

चैतमा एसईई, वैशाखमा कक्षा १२ को परीक्षा


सोमबार, असोज ३१ २०७९
845
Shares

राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसिमा निर्धारण गरेको छ ।

बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा १० को एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसपालि एसईई चैत दोस्रो सातादेखि संचालन हुने जानकारी दिए । असारको तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बनाइएको छ । कक्षा १२ को बार्षिक परीक्षा आगामी बैशाख दोस्रो सातादेखि संचालन हुने बोर्डको बार्षिक कार्यतालिकामा उल्लेख छ । बिषयगत रुपमा परीक्षा तालिका भने सार्वजनिकण् भइसकेको छैन । विद्यालयहरूले कक्षा ११ को बार्षिक परीक्षा बैशाख अन्तिम सातादेखि संचालन गर्ने बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १० र कक्षा ११–१२ को छुट्टाछुट्टै कार्यतालिका बनाएको हो । कार्यतालिकामा विद्यार्थीले परीक्षा आवेदन फाराम भर्ने देखि परीक्षा संचालन र नतिजा प्रकाशनको समय तोकिएको छ । विद्यार्थी, अभिभावक, विद्यालयलाई तयारी गर्न क्यालेण्डरले सघाउ पूग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । विद्यार्थीले मंसिर मसान्तसम्म एसईई परीक्षाको आवेदन फाराम भरिसक्नुपर्नेछ । एसईई परीक्षाको रुटिन माघ पहिलो साता सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

एसईईको पुरक परीक्षा भने २०८० सालको साउन अन्तिम साता संचाल गरिनेछ । यसअघि जेठमा मात्रै एसईई परीक्षा संचालन भएको थियो । कोभिड अघि भने चैतमा नै परीक्षा संचालन हुदैं आएको थियो । लकडाउनका कारण समयमा परीक्षा र नतिजा प्रकाशित नहुँदा विद्यालय तह देखि उच्चशिक्षा सम्मको भर्ना र पठनपाठन प्रभावित भएको थियो ।

बैशाखमा हुने कक्षा १२ को परीक्षाको नतिजा भने साउन मसान्तभित्र प्रकाशन गरिसक्ने बोर्डको कार्यतालिकामा उल्लेख छ । ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन गरिने बोर्डले जनाएको छ ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कात्तिक मसान्तभित्र रजिष्ट्रेशन आवेदन फाराम वितरण गरिसक्ने कार्यतालिका बनाईएको छ । उक्त फाराम माघ १५ सम्म विद्यालयले बोर्डमा पेश गरि सक्नुपर्नेछ । परीक्षा आवेदन फाराम पनि त्यति बेलै बुझाउनु पर्नेछ । कक्षा ११–१२ को परीक्षा तालिका माघ मसान्तभित्र सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार