• आइतबार, साउन २४ २०८३

अली असगरले किन छाडेका थिए ‘द कपिल शर्मा शो’ ?


बुधबार, असोज २६ २०७९
795
Shares

कमेडियन कपिल शर्माको चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’ को तेस्रो सिजन प्रसारण भइरहेको छ। सेप्टेम्बर १० देखि सोनी टेलिभिजनबाट प्रदर्शनरत यो कार्यक्रममा अहिले नयाँ कलाकारहरू थपिएका छन्।

कपिलले आफ्नो शोको सुरूआत २०१६ मा गरेका थिए। शोको सुरूआतमा होस्ट कपिल शर्मा र उनको टिम किकु शारदा, कृष्णा अभिषेक, सुनील ग्रोवर, सुमोना चक्रवर्ती, चन्दन प्रभाकर, भारती सिंह र अली असगर सामेल थिए। 

सुनील ग्रोवर र अली असगरले यसअघि नै शो छाडिसकेका थिए। नयाँ सिजनमा कृष्णा अभिषेक र भारती सिंह पनि देखिएका छैनन्। बाँकी कीकु, सुमोना, चन्दनसँगै सृष्टि रोडे, गौरव दूबे, श्रीकान्त मस्की र सिद्धार्थ सागर भने कार्यक्रममा देखिएका छन्।

६ वर्षमा चार मुख्य कलाकारले यो शो छाडेका छन्।

हालै अली असगरले शो छाड्नुको कारण खुलाएका छन्। भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्सका अनुसार उनले आफूले शो छाडेदेखि कपिललाई भेट्न नसकेको र सम्पर्क नभएको जिकिर पनि गरेका छन्। 

अलीले सन् २०१७ मा, अर्थात् पाँच वर्षअघि शो छाडेका थिए। उनले कार्यक्रम छाड्नुको मुख्य कारण ‘सिर्जनात्मक भिन्नता’ भएको बताएका छन्।

‘नानी’ र ‘दादी’ (हजुरआमा) को भूमिकामा देखिने अलीले कपिल र सुनील ग्रोवरबीच विवाद सुरू भएपछि नै कार्यक्रम छाडेका थिए। अलीका अनुसार उनले आफ्नो भूमिकालाई न्याय गर्न र विस्तार गर्न नसकेका कारण शो छाडेका हुन्।

‘कुनै समय थियो जब मैले कपिलको फोन कल एकदमै मिस गरेँ। अनि कतिपटक उसले मेरो फोन मिस गर्‍यो,’ अलीले भनेका छन्, ‘हामीबीच कुनै विवाद वा रिस थिएन। म कपिल शर्मा शोमा जाँदै जाँदिनँ भन्ने पक्षमा अडिग छैन। तर कार्यक्रम छाडेपछि उसको र मेरो कहिल्यै भेट भएन।’

अलीले बाहिर विभिन्न अफवाहहरू फैलिएकाले पनि आफूले कार्यक्रम छाडेका बेला चुप बस्ने निधो गरेको बताएका छन्। 

उनी अहिले कलर्स टिभी च्यानलको ‘झलक दिखलाजा सिजन १०’ मा देखिएका छन्।

त्यस्तै कार्यक्रम छाडेका कृष्णा र भारती शोमा फर्किन्छन् कि फर्किँदैनन् यकिन छैन। भारती अन्य च्यानलको काममा व्यस्त भएकाले नआउने खबर छ। त्यस्तै कृष्णाले सोनी च्यानलसँग पारिश्रमिकको कुरा नमिलेकाले शोमा नआउने बताएका छन्।

नयाँ सिजनमा धेरैले सुनील ग्रोवर पनि देखिने आशा गरेका थिए। तर उनी फर्केनन्। सुनील ग्रोवर कपिल शर्मा शोमा डाक्टर मसूर गुलाटीको भूमिकामा चर्चित थिए। यसबाहेक गुथ्थी र अन्य भूमिकामा पनि उनी कार्यक्रममा सक्रिय थिए।

तर सुनीलले द कपिल शर्मा शोमा फर्किनेबारे केही भनेका छैनन्। उनी केही समयअघि ‘इन्डियाज लाफ्टर च्याम्पियन’ मा प्रस्तुति दिएका थिए।

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा सुनीलले डाक्टर गुलाटीको भूमिकाबारे बोल्दै भनेका थिए, ‘म यो भूमिका आफ्नै लागि गर्न चाहन्छु। मैले लामो समयपछि डाक्टर मसूर गुलाटीको हुलियामा आउँदा रमाइलो अनुभव गरेँ। त्यो एक भागका लागि मात्र थियो, त्यत्ति हो!’

सुनीलले सन् २०१७ मा कपिल शर्माको कार्यक्रम छाडेका थिए। कार्यक्रम छाड्नुको कारण कपिल र उनीबीच विदेशबाट फर्किने बेलामा हवाइजहाजमा भएको झगडा थियो। कपिलले उनलाई दुर्व्यवहार गरेपछि तत्कालै कार्यक्रम छाडेका थिए।

समयक्रममा उनीहरूबीचको रिस शान्त भइसकेको बुझिएको छ। बाहिरी रूपमा उनीहरू राम्रै बोल्छन् र एकअर्काका बारेमा अन्तर्वार्ताहरूमा कुरा पनि गर्छन्। उनीहरू दुवैले भविष्यमा सँगै काम गर्न सकिन्छ पनि भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार