बेलायतमा ३३ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।
दूतावास र गोरखा वेलफेयर ट्रष्टले राखेका अलगअलग अभिलेखअनुसार हालसम्म ३३ नेपालीको निधन भएको नयाँ तथ्य सार्वजनिक भएको हो। विदेशमा कोरोनाबाट नेपालीको मृत्यु भएको यो नै सबैभन्दा धेरै संख्या हो।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बेलायतमा आज शनिबारसम्म ३३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।
कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व सैनिकहरुको संख्या बढी रहेको छ। दूतावासका अनुसार ३३ जनामध्ये २३ जना गोरखा भूतपूर्व सैनिकहरु छन्। त्यस्तै मृत्यु भएकामध्ये ३१ जना पुरुष र २ जना महिला छन्।