आज (आइतबार) देशैभरि हावाहुरी, मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने सम्भावना छ।
मौसमविद् पोखरेलले भनिन्, ‘आज देशभरि नै हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाकाे सम्भावना देखिएको छ।’
उनका अनुसार यस्तो सम्भावना अहिले बिहानैदेखि नै रहे पनि विशेष गरी दिउँसोपछि देशव्यापी रूपमा बढ्नेछ।
हावाहुरी तथा वर्षाको सम्भावना तराई पहाड दुवै भेगमा उत्तिकै रहेको उनले बताइन्। ‘यो पालि सिस्टम (मौसमी प्रणाली) अलि शक्तिशाली नै देखिएको छ,’ उनले भनिन्, ‘सबैले सतर्कता अपनाउन जरुरी छ।’
प्रिमनसुनको वर्षा त्यति धेरै लामो समय नहुने भए पनि आज हुने वर्षा त्यति धेरै छोटो समयको पनि नहुने उनले बताइन्।