
दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ।
कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ।
नवरात्रभर शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गर्दछ।
घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ। दुर्गाका यी नौ रुपलाई नवदूर्गा पनि भन्ने गरिन्छ।
