• सोमबार, साउन २५ २०८३

गोरखाका प्रदीप रोदनको गजलकृति ‘मफलर’को विमोचन


सोमबार, असोज १० २०७९
1.6K
Shares

गोरखा। गोरखाका गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताए । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उनले भने, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।’

यस्तै कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताए । यी सम्पूर्ण गजल आफूले गोरखाको पाण्डेबेसीको माटोमा बसेर लेखेको पनि उनले बताए ।

देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’ । उनले वि.स. २०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, २०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र २०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार