• आइतबार, साउन १० २०८३

यूरिया मलमा कालोबजारी : सहकारीको नाममा ब्यापारीको कमाउधन्दा (भिडियो सहित)


शुक्रबार, बैशाख १२ २०७७
1.1K
Shares

मोहसिन अलि मियाँ
गोरखा ।
देशमा कोरोनाको त्रास छ, संक्रमित दिनप्रतिदिन बढ्दैछन । सरकारले घोषणा गरेको लकडाउनले एक महिनादेखि देश पूरै ठप्प छ । तर केहि ब्यापारी भने लकडाउनलाई अवसर ठानी कालोबजारीमा लागेको खुलेको छ ।

यता महिनादिनदेखि लकडाउन भएपनि गाउँका किसानलाई भने खेतबारीको काममा भ्याइनभ्याई छ । लकडाउन सुरुवातसंगै किसानले रोपेको मकै हलक्क बढेका छन् । तिनै मकैमा अहिले मल हाल्नुपर्ने समय छ । तर किसान न भनेको समयमा मल पाउछन्, न त तोकिएकै मुल्यमा ।

पछिल्लो समय गोरखाका किसानलाई समेत मल चाहिएको छ । तर जिल्लाभर यूरिया मल वितरणको जिम्मा पाएको उपभोक्ता सहकारी संघ छेवेटार नै कालोबजारीलाई प्रश्रय दिने काममा लागेपछि वास्तविक किसान समस्यामा परेका छन् ।

लकडाउनको मौका छोपेर गोरखामा सहकारी संघबाट नै आफु निकटका ब्यापारीलाई पोस्ने काम भइरहेको तथ्य खुलेको छ । कानुनत मलको विक्रि वितरण गर्न सहकारी बाहेकले नपाउने प्रावधान छ । तर अहिले जिल्लामा गाउँगाउँका किराना पसलेले समेत खुलेआम मल बेचिरहेका छन् । त्यो पनि एक बोरा मै ५ सय रुपैया बढी मुल्यमा ।

जिल्लाको भिमसेन थापा गाउँपालिका १ मसेलमा सहकारीका नाममा खरिद गरिएको मलमा सिमित ब्यापारीको एकाधिकार रहेको प्रमाण सिभिलखबरले फेला पारेको छ । बिन्द्रावती कृषि सहकारी संस्थाको नाममा स्थानीय कबिन्द्र श्रेष्ठ, माधव भट्ट, राम प्रसाद बगाले, लगायतका ब्यापारीले रजाई गरिरहेको तथ्य खुलेको हो । उनिहरुले रजाँई मात्रै गरेका छैनन, एकाधिकार पनि जमाएका छन् ।

सहकारीको नाम, ब्यक्तिको लगानी
भिमसेन थापा गाउँपालिका १ मसेलका कबिन्द्र श्रेष्ठले लकडाउन हुनु भन्दा केहिदिन अघि ९० बोरा यूरिया मल आफ्नो घरमा ल्याए । टेलिफोन मार्फत बिन्द्रावती कृषि सहकारीका नाममा अर्डर गरेर उनले ९ सय ५० रुपैयाका दरले सो परिमाणमा मल ल्याएको स्विर्काछन् ।

‘मैले छेवेटारबाट ९० बोरा ल्याएको हुँ’ श्रेष्ठ किराना स्टोर्सका सञ्चालक समेत रहेका कबिन्द्रले भने ‘छेवेटार मै खुल्ला २५ रुपैयामा बेचेका छन्, मैले यहाँसम्म ल्याएर ३० रुपैयामा त बेच्न पाउनु प¥यो नि ।’

उनी मात्रै होइन मसेलकै अर्का ब्यवसायी माधव भट्टले समेत सोही सहकारीका नाममा ४५ बोरा ल्याएर बेचेको स्विकारेका छन् । ‘किसानकै माग भएर ल्याएको हो’ मानवी मदिरा स्टोर्सका सञ्चालक भट्ट भन्छन् ‘सहकारीसंग पैसा नभएर हामीले लगानी गरेर ल्याएका हौ ।’

तर उनिहरुले ल्याएको मलको बिल भने सहकारीको नाममा काटिएको भेटिएको छ । मल बेच्ने उनिहरु दुवै सहकारीका सदस्य भने हुन् ।

सहकारीले मल ल्याएकै छैन ः अध्यक्ष श्रेष्ठ
आफ्नो सहकारीले यूरिया मल नल्याएको विन्द्रावती कृषि सहकारी संस्थाका अध्यक्ष शिव श्रेष्ठको दावी छ । ‘मलाई थाहा नै छैन, हामीले छेवेटारसंग मल माग्दा छैन भन्ने जवाफ आएको थियो’ उनले सिभिलखबरलाई भने ‘अहिले गाउँमा हाम्रो सहकारीको नाममा मल ल्याएर बेचेका छन रे भन्ने सुनियो, हामीले कुनै ब्यक्ति या सदस्यलाई सिफारिस नै दिएका छैनौ, मल ल्याउने निर्णय भएकै छैन ।’

सहकारी र वडा कार्यालयको सिफारिस बिना नै संघले ब्यापारीलाई कसरी मल पठायो, आफु आश्चार्यमा परेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

बढी मुल्य हाल्नु प¥यो ः किसान
यता किसान भने मलमा बढी मुल्य तिर्नुपर्दा मर्कामा परेको दुखेसो गर्छन । बजारमा करिब २० रुपैया प्रतिकेजीमा पाइने मललाई १० रुपैया बढी हालेर ३० मा किन्नु परेको उनिहरुको गुनासो छ ।

‘मैले २५ किलो किनेको ७५० हाले’ मसेल खगीथोकका अर्जुन पोखरेलले भने ‘बोरा लैजान्छु भन्दा दिएनन्, लुज मात्रै बेच्ने रे, बाटोमा अरुले चिन्छन भनेर सिमेन्टका बोरामा हालेर बेचेका छन्’

स्थानीय छविलाल थापाले समेत ३० रुपैयाकै दरले किनेको बताउछन् । त्यस्तै ३० रुपैया मुल्य बढी भएको बताएपछि आफुलाई ब्यापारीले मल नै नदिएको अर्का किसान हरी प्रसाद पोखरेलको दुखेसो छ ।

फोन कै भरमा ब्यापारीलाई मल पठाउछ ‘संघ’
सहकारीका सदस्य भएकै हैसियतमा उपभोक्ता सहकारी संघको कार्यालय छेवेटारले ब्यापारीलाई टेलिफोनको भरमा सयौ बोरासम्म मल पठाउने गरेको पाइएको छ ।

सम्बन्धित वडा कार्यालयको सिफारिस र सहकारीको निर्णय, स्टमेट सहितको माग पत्र नभई मल पठाउन नमिल्ने भएपनि संघले नियम मिचेर कालोबजारीलाई प्रश्रय दिइरहेको खुलेको हो ।
संघले जिल्लाभर यूरिया मल निर्यात गर्ने गरी कृषि ज्ञान केन्द्र गोरखाबाट अनुमती लिएको थियो ।

‘पछि डकुमेण्ट ल्याइदिन्छौ, अहिले लकडाउन छ भनेर फोन गरेको आधारमा बिश्वासमा मल पठाइएको हो’ संघका ब्यवस्थापक विष्णु बगालेले सिभिलखबरलाई भने ‘तर मल लगेर बढी मुल्यमा बेचेको छ भन्ने जानकारी मलाइपनि आएको छ, मैले तुरुन्त कागजात ल्याउन भनेको छु ।’

संघले यस बर्ष ४ हजार २२० बोरा यूरिया, ४६० डिएपी, एक सय बोरा पोटास र ५० बोरा एमोनियम सल्फेट मल ल्याएको थियो । सो मलहरुको क्रमश ९५०, २४५०, १८०० र १५०० रुपैया प्रतिबोराका दरले संघले बिक्रि गरिरहेको बताएको छ ।

छानविन हुदैछ ः प्रशासन
कालोबजारी गरेको गुनासो आएपछि कृषि ज्ञान केन्द्र गोरखाले समेत सो क्षेत्रमा अनुगमन गरेको छ ।

‘ब्यक्तिले कम मुल्यमा पनि मल बेच्नै पाउदैन, तर यहाँ त बढी मुल्यमा बेचेको पाइएको छ’ केन्द्रकी प्रमुख मनिता थापाले भनिन ‘गुनासो आएपछि हामीले फिल्ड भिजिट ग¥यौ, उहाँहरुले सहकारीको दुरुपयोग गरी ब्यक्तिगत फाइदा लिएको पाइयो, प्रकृयामा खरिद पनि भएको रहेनछ ।’

सबै प्रमाण सहित अध्ययन गरी प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको प्रमुख थापाले बताइन ।

यता कानुन विपरित खरिद विक्रि गरिएको पाइए कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताउछन् । ‘कालोबजारी भएको भन्ने कुरा आएको छ, हामी प्रमाणहरु अध्ययन गर्दैछौ’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ‘प्रमाणित भए कालोबजारी ऐन अन्तरगत कारबाहीको प्रकृया अघि बढाउछौ ।’

यसरी हुन्छ मलमा कालोबजारी, भिडियोमा हेर्नुस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार