
गोरखा । गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बिहिबारसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका नारायणबाबु अर्यालले जानकारी दिए ।

उनका अनुसार गोरखा नगरपालिकामा ४१, आरुघाट गाउँपालिकामा ११, पालुङटार नगरपालिकामा ४, भिमसेन थापा गाउँपालिकामा १, गण्डकी गाउँपालिकामा १ जनामा डेंगु संक्रमण भेटिएको हो । डेंगु संक्रमणको दर बढेसँगै कार्यालयल लामखुट्टेको फुल पार्ने ठाउँहरु ‘खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरेको छ ।
विहिबार सूचना जारी गर्दै सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, निजी अस्पताल तथा मेडिकलहरुमा डेंगुको परीक्षण पछि अनिवार्य रुपमा विवरण पठाउन अनुरोध गरिएको छ ।
डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टेको वृद्धि तथा विकास सफा र स्थित पानीमा हुने भएकाले आफ्नो घर, विद्यालय, कार्यालय र टोल वरपर लामखुट्टेको फुल पार्न सक्ने सम्भावित स्थानहरु सरसफाई गर्न अनुरोध गरिएको छ ।
समयमै यसबाट बच्न सावधानका उपायहरु नअपनाए डेंगु संक्रमणको दर अझै बढ्न सक्ने अस्पतालका सुचना अधिकारी कृष्ण ढकाल बताए । टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जीउ तथा हात दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेंगुका लक्षण हुन । लक्षण देखिनासाथ उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने उनले बताए ।


