
निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।
आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको छ ।

‘आफु कार्यरत स्थानमा खटिने र बाहिर जिल्लामा खटिने प्रहरीका लागी फरक–फरक दरमा भत्ता दिने निर्णय भएको छ’ प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी दानबहादुर कार्कीले बताए । ‘कार्यालय सुरक्षामा खटिने प्रहरीले पनि भत्ता पाउँछन् ।’आफु कार्यरत जिल्ला बाहिर खटिँदा १४ दिनको दैनिक भ्रमण भत्ता लिने सुरक्षाकर्मीले रासन बापतको रकम भने पाउँदैनन् ।
म्यादी प्रहरी र निर्वाचन खटिने सकल दर्जाले ४ दिन खाजा खर्च पाउँछन् । ४ दिनका लागि दैनिक ३ सयको दरले खाजा खर्च दिन अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । त्यस्तै, निर्वाचनमा खटिने प्रहरीका लागि आवश्यक औषधी खरिद गर्न अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई ५० लाख निकासा दिएको छ । औषधी किन्न ५० लाख निकासा भएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
निर्वाचन अवधिमा १० दिनका लागि प्रहरीले १ हजार ५० वटा गाडी भाडामा लिने भएको छ । गाडी भाडामा लिन र प्रहरी कर्मचारी ओसारपसारका लागि बस रिजर्भ गर्न आवश्यक भाडा रकम अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निकासा दिन सहमति दिएको छ ।


