
म्याग्दी । पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड अवरुद्ध बनेको छ ।
बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको प्रहरीले जनाएको छ । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ ।


