

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
विजयादशमीकाे अवसर पारेर बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा असोज १२ देखि १६ गतेसम्म प्रतियोगिता हुने आयाेजकले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे ।

‘बोर्लाङ थापा कप–२०७९’ नाम दिइएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका टिमको सहभागिता रहने समितिका अध्यक्ष निराजन श्रेष्ठले बताए ।
प्रतियाेगितामा प्रदेशस्तरीय पुरुष भलिवलमा पहिलो हुने टिमलाई एक लाख ३० हजार नगद पुरस्कार दिइने छ । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश ७० हजार, ३५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने समितिले जनाएको छ ।

त्यस्तै खुला महिलातर्फकाे प्रतियाेगितामा प्रथम हुने टिमले ७० हजार नगद पुरस्कार पाउने छ भने दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिता अन्तरगत ३५ वर्ष माथिकालाई लक्षित गरी भेट्रान्स पुरुष भलिवल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । अन्तर वडा स्तरीय प्रतिस्पर्धा हुने यो प्रतियोगितामा पहिलो हुने टिमले ४० केजीको खसी र दोस्रो हुने टिमले २५ केजीको खसी पुरस्कार पाउने छन् ।



प्रतियोगीतामा सहभागी हुन टिमका लागी दर्ता शुल्क पनि निर्धारण गरिएको छ । पुरुष तर्फको प्रतियोगितामा सहभागी हुने टिमले ७ हजार, खुल्ला महिला र भेट्रान्सतर्फको टिमले ५/५ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने छ ।
असोज ११ गते बेलुकी ५ बजेसम्म टिम दर्ता गराइसक्न आयोजकले आग्रह गरेको छ । खेलाडीलाई खान बस्नको निशुल्क व्यवस्था आयोजकले नै गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैयाँ लाग्ने अनुमान आयोजकको छ ।
जसमा गाउँपालिका, वडा कार्यालयले समेत आयाेजनामा सघाउने भिमसेन थापा गाउँपालिका ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
