गोरखा । गोरखा नगरपालिका वडा नं १० का नागरिकले अब छेवेटारबाट पनि सेवा पाउने भएका छन् । बिरेञ्चाेकबाट सेवा सञ्चालन गरिरहेकाे वडा कार्यालयमा छेवेटार लगायतका जनतालाई अपायक परेकाे भन्दै छेवेटारमै वडाकाे सेवा केन्द्र सुरु गरिएकाे वडाध्यक्ष प्रदिप कुवँरले बताए ।
हरेक हप्ताको आइतबार, मंगलबार र विहिबार छेवेटारबाट सेवा दिने उदेश्य सहित स्थापना भएकाे वडा कार्यालयकाे बुधबार एक कार्यक्रमका वीच उपमेयर मसली माया थाेकर (सपना पुन) ले उद्घाटन गरेकी हुन् ।

छेपेटारको प्रयोगविहिन अवस्थामा रहेको कृषि भवनमा वडा कार्यालय स्थापना गरिएको वडाध्यक्ष कुँवरले बताए । त्यस्तै हप्ता साेमबार, बुधबार र शुक्रबार भने साविककै वडा कार्यालय विरेञ्चाेकबाट सेवा प्रवाह हुने उनकाे भनाई छ ।
यसले दुवै क्षेत्रबाट वडा कार्यालय सेवा लिन आउने सेवाग्राहीलाई धेरै सहज बताइएकाे छ ।
वडा कार्यालयकाे सेवा केन्द्र उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालसहित वडा नम्बर ५, ११, १२ का वडाध्यक्ष लगायत स्थानीय वासिन्दाकाे उपस्थीती रहेकाे थियाे ।