• सोमबार, साउन २५ २०८३

बुढीगण्डकी जलविद्युत् कम्पनी दर्ता, सरकारको २० अर्ब लगानी


शुक्रबार, भाद्र १७ २०७९
810
Shares

गोरखा । बुढीगण्डकी जलविद्युत् कम्पनी लिमेटेड दर्ता भएको छ । शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण संस्थापक रहने गरी कम्पनी दर्ता भएको हो ।

गत चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीबाटै बनाउने निर्णय गरेको थियो । सो आयोजना यसै कम्पनीमार्फत् निर्माण हुनेछ ।

कम्पनीमा ऊर्जा मन्त्रालयको ५०, अर्थको ३० र विद्युत् प्राधिकरणको २० प्रतिशत सेयर स्वामित्व रहने छ । १२ सय मेगावाट उत्पादन क्षमता भएको बुढीगण्डकी जलविद्युत् कम्पनीमा सरकारको २० अर्बको लगानी रहनेछ । कम्पनीका संस्थापकहरुले तत्काल चुक्ता गर्न कबुल गरेको रकम १६ अर्ब रुपैयाँ बराबर रहेको छ ।

आयोजनाको लागत करिब ३ खर्ब ३२ अर्ब रुपैयाँ बराबर रहने अनुमान गरिएको छ । बुढीगण्डकी आयोजना बनाउनका लागि सन् २०१५ मा तयार पारिएको लागत अनुमानमा करिब २२ अर्ब रुपैयाँ बराबर बढ्ने ठानिएको छ ।

गत चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी आफैं बनाउने निर्णय गरेसँगै लागत पुनरावलोकनका लागि नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एनईए इन्जीनियरिङ कम्पनीलाई जिम्मा दिइएको थियो । फ्रान्सेली कम्पनी ट्र्याक्टेवेल इन्जिनियरिङले सात वर्षअघि तयार पारेको आयोजना लागतलाई एनईए इन्जीनियरिङले पुनरावलोकन गरेको हो ।

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्ले संयोजकत्वको कार्यदलले २०७४ सालमा विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा विशिष्ठीकृत आयोजना कार्यान्वयन इकाइ बनाएर बुढीगण्डकी आयोजना बनाउन सकिने सुझाव दिएको थियो ।

तत्कालीन अवस्थामा अनुमान गरिएको २ खर्ब ७० अर्ब रुपैयाँ बराबरको लागतमध्ये ३५ प्रतिशत परिपूरक कोष (भायबिलिटी ग्याप फन्डिङ) मार्फत पूर्ति गर्न सकिने उक्त कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

ट्र्याक्टेवेल इन्जीनियरिङले सन् २०१५ अक्टोबरमा तयार पारेको आयोजनाको संभाव्यता अध्ययन र विस्तृत डिजाइन प्रतिवेदनमा कुल लागत २ अर्ब ५९ करोड २७ लाख ५० हजार अमेरिकी डलर बराबर रहने अनुमान गरिएको छ ।

तर त्यो लागतमा १७ करोड ३४ लाख ७० हजार अमेरिकी डलर बढेर २ अर्ब ७६ करोड ६२ लाख २० हजार अमेरिकी डलर बराबर पुग्ने पछिल्लो अनुमान छ ।

अर्थात् आयोजनाको अहिलेको लागत करिब ३ खर्ब ३२ अर्ब रुपैयाँ बराबर अनुमान गरिएको छ । सालमा विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा विशिष्ठीकृत आयोजना कार्यान्वयन इकाइ बनाएर बुढीगण्डकी आयोजना बनाउन सकिने सुझाव दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार