• सोमबार, साउन २५ २०८३

नवौँ राष्ट्रिय खेलको लागि ६० करोड


आइतबार, भाद्र १२ २०७९
725
Shares

सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि ६० करोड रुपैयाँ बजेट छुट्याएको छ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि ६० करोड रुपैयाँ छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताए। 

उनले उक्त रकम तीन पटक गरेर लिनेसमेत जानकारी दिए। पहिलो चरणमा १० करोड, दोस्रो चरणमा २३ करोड र तेस्रो चरणमा २७ करोड रुपैयाँ लिने बताए। सरकारले पहिलो चरणका लागि १० करोड रकम भने विनियोजन गरिसकेको छ। 

उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीका लागि पठाइसकेको सदस्य सचिव घिसिङले जानकारी दिए। राखेपले उक्त प्रतियोगिताको काउन्ट डाउनसमेत सुरु गरिसकेको छ। 

अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ। प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ। 

प्रतियोगितामा तीन सय ९३ स्वर्ण तीन सय ९३ रजत र छ सय कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ। 

उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुङ्गो लाग्ने राखेप सदस्य सचिव घिसिङले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार