
गोरखा । साधना लघुवित्त वित्तीय संस्थाले युवा स्वराेजगार सहुलियत कर्जा बितरण सुरु गरेको छ । गाेरखाकाे हरमटारीमा केन्द्रिय कार्यालय रहेकाे संस्थाले साना तथा स्वराेजगार काेषसंगकाे सहकार्यमा युवा स्वराेजगार सहुलियत कर्जा वितरण सुरु गरेकाे हाे ।
संस्थाले पहिलाे चरणमा शुक्रबार सदरमुकाममा एक कार्यक्रमकाे आयाेजना गरी प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यकाे उपस्थितीमा गोरखाका बिभिन्न स्थानीय तहका ३२ जना उद्यमी सदस्यहरुलाई उक्त सहुलियतपूर्ण कर्जा बितरण गरिएकाे प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।


साे कार्यक्रम अन्तरगत २ लाखसम्म ८ प्रतिशत ब्याजदरमा उद्यमी सदस्यहरुलाई कर्जा प्रवाह गरिएकाे उनले बताए । संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेका अनुसार नियमित रुपमा कर्जा तिरेपछि अन्तिममा ब्याजको ६० प्रतिशत रकम अनुदानका रुपमा ऋृणिले फिर्ता पाउनेछन् ।

यस कार्यक्रम अन्तर्गत गोरखामा मात्रै १ कराेड ५८ लाख रुपैया कर्जा प्रवाह गर्ने संस्थाले जनाएकाे छ ।
५ बर्षअघि गोरखामा केन्द्रिय कार्यालय स्थापना गर्दै सेवा सुरु गरेकाे साधनाले हाल ३१ जिल्लामा गरी ९३ शाखाबाट सेवा प्रवाह गरिरहेकाे जनाएकाे छ । संस्थाकाे गोरखामा मात्रै ९ वटा शाखा रहेकाे न्याैपाले सिभिलखबरलाई बताए ।


धिताे र विना धिताे गरि ५९ हजार ऋृणिलाई करिब ६ अर्ब रुपैया कर्जा प्रवाह गरिसकेकाे साधनामा १ लाख १ हजार सदस्य मार्फत १ अर्ब ३२ कराेड बचत संकलन गरिसकेकाे जनाएकाे छ ।
त्यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत समेत बिभिन्न सामाजिक सहयाेग र कार्यक्रम सञ्चालन गर्दै आएकाे संस्थाकी सरिता ढकालले बताइन् । संस्थाले शुक्रबार नै पत्रकार सम्मेलन गरेर सेवा प्रवाहकाे अवस्था, प्रगती तथा सञ्चालन भएका कार्यक्रमका बारे जानकारी समेत गराएकाे छ ।


