
गोरखा । आजै नेपाल आएकाे बेलायतको रसमोर बरो काउन्सिलको टोली गोरखा आइपुगेकाे छ ।
गोरखा नगरपालिकासंग भगेनी सम्बन्ध कायम रहेको बेलायतको रसमोर बरो काउन्सिलको टोली गोरखा आइपुगेको हाे ।



टोलीलाई आज बिहान ८ः०० बजे गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकाल लगायतले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमाण्डौंमा स्वागत गरेका थिए।
बेलायती टोलीमा डेपुटी काउन्सिल लिडर मरिस सिहान र काउन्सीलर बेलबासे मितेरी लगायत ५ जना रहेका छन् ।

गोरखाको ५ दिने भ्रमणका लागि नेपाल आएको बेलायती प्रतिनिधिमण्डलकाे टोलीले गोरखा नगरपालिकाले गरेको स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, प्रशासन लगायतका विविध पक्षको अवलोकन गर्नुका साथै अनुभव आदानप्रदान पनि गर्ने कार्यक्रम रहेको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

टोलीले नगरपालिका भित्रका ऐतिहासिक स्थल गोरखा दरबार, गोरखा संग्राहलय सहितका सांस्कृतिक, पर्यटकिय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको गोरखा नगरपालिकाले जनाएको छ ।



प्रतिनिधिमन्डलको नेतृत्व डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका छन् । प्रतिनिधी मण्डलमा रसमोर बरो काउन्सिलका काउन्सीलर जीव बेल्वासे, डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्ड रु क्लोभरका, अमृता बेल्वासे र इज्जी सिहान सहभागी छन् ।
टोलीकाे भ्रमणकाे अवसरमा गोरखा नगरपालिकाले बिभिन्न कार्यक्रम समेत आयाेजना गरेकाे छ । जसमा शुक्रबार साँझ सदरमुकामकाे एक हाेटलमा रात्रीकालिन भोज र शनिबार बिहान विभिन्न सरोकारवालाहरुसंग छलफल र चियापान कार्यक्रम समेत गखिएको छ ।



त्यस्तै नगरभित्रका बिभिन्न पर्यटकिय र एतिहासिक स्थलहरुकाे भ्रमण, साँस्कृतिक कार्यक्रम लगायत रहेकाे नगरपालिकाका आइटी अफिसर सुयाेग खनालले बताए ।
३ वर्षअघि गोरखा नगरपालिकाका तत्कालिन मेयर राजनराज पन्तसहितकाे टाेली बेलायत पुगेर रसमोर बरो काउन्सिलसंग भगेनी सम्बन्ध गाँसेको थियो । त्यससंगै काेराेना भाइरसकाे संक्रमण बढेका बेला साे काउन्सिलले गोरखा नगरपालिकालाई ८० लाख बराबरकाे स्वास्थ्य सामाग्री समेत सहयाेग गरेकाे थियाे । साे सामाग्री तत्कालिन मेयर पन्तले जिल्लाका अन्य १० पालिकासंगै प्रदेश सरकारसम्मलाई हस्तान्तरण गरेका थिए ।

दुवै नगरपालिका बिचको भगेनी सम्बन्धलाई थप मजबुद बनाउने उद्धेश्यले रसमोर बरो काउन्सिलको टोली नेपाल आइपुगेको बताइएकाे छ । उनिहरुलाई गोरखा नगरपालिकाले गोरखा गर्डेन हाेटलमा आवासकाे ब्यवस्था मिलाएकाे बताएकाे छ ।