• मंगलबार, साउन २६ २०८३

सामसङ ब्रान्डका टेलिभिजन अब नेपालमै बन्ने 


बिहिबार, भाद्र ९ २०७९
855
Shares

दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन अब नेपालमै बन्ने भएको छ। सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन बनाउन लागिएको हो।

बुधबार नवलपरासीमा एक कार्यक्रम गर्दै सामसङ कारखाना शिलान्यास गरिएको छ। 

स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने उद्देश्यले सामसङ ब्रान्डका टेलिभिजन यहीँ बनाउन लागिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताए। उनका अनुसार उद्योग स्थापनामा सामसङ कम्पनीको प्राविधिक सहायता लिइनेछ भने लगानी गोल्छा ग्रुपको हुनेछ। 

उद्योग स्थापना गर्न कति लगानी लाग्छ भन्नेबारे अहिले भन्न नसकिने उनको भनाइ छ। 

‘भर्खरै उद्योग शिलान्यास भएको छ। अहिले नै लगानी भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘कारखाना स्थापना गर्दै जाँदा कति लाग्छ, अहिले थाहा छैन।’

ग्रुपले कति आकारका टेलिभिजन यहाँ उत्पादन गर्नेछ भन्नेबारे पनि यकिन नभएको उनले बताए। बिस्तारै उपभोक्ताको मागअनुसार सबै आकारका टेलिभिजन बनाउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ। 

गोल्छाका अनुसार टिभी उद्योग एक वर्षपछि सञ्चालन आउने छ। सञ्चालन भएपछि उद्योगमा एक सयभन्दा बढीले रोजगारी पाउनेछन्। दैनिक एक हजार टिभी उत्पादन गर्ने कम्पनीको योजना छ। 

शिलान्यस कार्यक्रममा सामसङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले भने, ‘लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर नवलपरासीमा स्थापना गर्न लागेको यो टिभी कारखाना नेपाली जनताप्रतिको निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनप्रति उपभोक्ताले देखाएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो।’

सामसङ नेपालमा सन् १९९७ देखि भित्रिएको हो। हिम इलेक्ट्रोनिक्सले यसका सामानहरू नेपालमा भित्र्याउँदै आएको छ।

सामसङले हिम इलेक्ट्रोनिक्समार्फत् नेपालमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, ओभन र स्मार्टफोनहरू बिक्री वितरण गर्दै आइरहेको छ। 

नेपालमा पाँच सयभन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरू र ग्राहक सेवा केन्द्रहरूको सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ।

शिलान्यास समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडु, सामसङ इलेक्ट्रोनिक्सका ग्लोबलका अध्यक्ष एचके पार्क, लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाही,  दक्षिण कोरियाका राजदूत पार्क चोंग सुक, रामग्राम नगरपालिकाका प्रमुख तथा जिल्ला अधिकारीको उपस्थिति थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार