
गोरखा । आजदेखि गोरखामा पाँच देखि ११ वर्ष उमेरका बालवालिकालाई कोरोनाविरुद्धको फाईजर-बायोएनटेक खोप लगाइने भएको छ ।
जिल्ला भित्रका बालबालिकाहरुलाई बिद्यालय-बिद्यालयमा पुगेर कोरोना बिरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए ।



पहिलो चरण अन्तरगत चुमनुव्री गाउँपालिका बाहेकका १० वटै पालिकाहरुका बिधालयमा स्वास्थ्यकर्मी तथा स्वयसेवकको टोली परिचालन गरी कोरोना बिरुद्धको फाइजर बायोएनेटक खोप दिन लागिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
खोप केन्द्रमा एक जना खोप लगाउने स्वास्थ्यकर्मी बाहेक थप दुई जना स्वास्थ्य स्वयसेवक रहने र एक जना स्वयसेवक अनिबार्य महिला हुनुपर्ने गरी व्यवस्था मिलाएका जनस्वास्थ्य निरीक्षक दानीले बताए ।

अभियान अन्र्तगत गोरखा जिल्लाका १० पालिका भित्रका २८ हजार १८ जना बालबालिकाहरुलाई कोराना बिरुद्धको खोप लगाउने लक्ष्य रहेको उनको भनाई छ । जसमा पालुङटार नगरपालिकामा ४५ केन्द्रमा ४२०८, धार्चे गाउपालिकाको २१ खोपकेन्द्रमा १९२६ जनाको, आरुघाट गाउपालिकाको ३२ खोपकेन्द्रमा २४६१ जना बालबालिकाहरुलाई खोप लगाउने सरकारकाे लक्ष्य छ ।
बारपाक सुलिकोटको २६ खोपकेन्द्रमा २५२३,अजिरकोट गाउपालिकाको २२ पालिकामा १३२४, गण्डकीको ३९ खोपकेन्द्रमा २३२४ जनाको, गोरखा नगरपालिकाको ८९ खोपकेन्द्रमा ७६८० जना, शहिद लखन गाउपालिकाको ४९ खोपकेन्द्रमा २१६७ जनाको, भिमसेनथापा गाउपालिकाको ३४ खोपकेन्द्रमा १५९९ सिरान्चोक गाउपालिकाको ४० खोपकेन्द्रमा १८०६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



जिल्लाको ३९७ खापकेन्द्रमा २८०१८ जनालाई खोप लगाउने लक्ष लिएको छ । जसमा बिधालय भित्र रहेका २७ हजार ६ सय १३ जना र बिधालय बाहिर रहेका ४ सय ५ जना बालबालिका रहेका छन् ।

केन्द्रीय कार्यक्रम अनुसार ९ गतेभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेपछि कार्यालयले भने जिल्लामा ८ गते भित्र खोप लगाई सक्ने गरी कार्यक्रम तय गरेको जनाएको छ ।
खोप अभियानमा सहभागी हुनका लागि परिवारका अभिभावकहरुले उमेरको स्वघोषणा गरेको भएपनि हुने जनस्वास्थ्य निरीक्षक दानीले जानकारी दिए । पहिलो मात्रा लगाएको २१ दिन पछी मात्र दोस्रो मात्राको खोप लगाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियान सम्पन्न गर्नका लागी जिल्लाभरका ४ सय ८३ जना स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरि सकिएको कार्यालयले जनाएको छ ।
फाइजर बायोएनेटक खोप रोग प्रतिरोधात्मक क्षमता कम भएका, दिर्घरोगी तथा कोरोना संक्रमण भएको ३० दिन नकटेकाहरुलाई लगाउन नहुने जनस्वास्थ्य निरीक्षक दानीले बताए ।


