• मंगलबार, साउन २६ २०८३

२०८० को पात्रो प्रकाशनका लागि १७ वटा निवेदन


शुक्रबार, भाद्र ३ २०७९
3.3K
Shares

विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि १७ वटा निवेदन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्नका लागि निवेदन दिन गत साउन ४ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो । 

समितिको सूचनाअनुसार पुराना १४ पञ्चाङ्ग र नयाँ तीन गरी १७ वटा निवेदन प्राप्त भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चाङ्ग छन्। यी तीन वटै पञ्चाङ्ग यो वर्ष पनि समितिसँग स्वीकृति नलिइ प्रकाशनमा रहेका छन्। मुक्तिनाथ र नेपाल पञ्चाङ्ग विश्व पञ्चाङ्ग निर्णायक समितिका नाममा स्वीकृतिका लागि आएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए।

विगतमा एकपटक समितिसँग स्वीकृति लिएर निस्किएको ज्वाला पञ्चाङ्ग केही समय भने स्वीकृति नलिइ प्रकाशनमा आएको थियो। ज्वालाले यसपटक फेरि स्वीकृतिका लागि निवेदन दिएको समितिले जनाएको छ। 

केही महिना प्राप्त निवेदनमाथि छलफल, चाडपर्वको निर्णय, ग्रहगणितको रुजु गरी प्रकाशनको स्वीकृति दिइनेछ। पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने समितिको तयारी छ ।
 
समितिको सङ्गठन तालिका निर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । केही हप्तामै यसले पूर्णता पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अर्थ मन्त्रालयले वचन दिएका छन्। समितिले कर्मचारी सेवा, शर्त र आर्थिक नियमावली पनि मस्यौदा गरी स्वीकृतिका लागि संस्कृति मन्त्रालयमा पठाउने तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार